२०७९ साल असोज १९ गतेदेखि २६ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाको सिंजा गाउँपालिका-३ स्थित कोटेसाँघुमा रहेको मोटरेबल बेलिब्रिज बगाउँदा केवल एउटा पुल मात्र भत्किएको थिएन, गाउँपालिका केन्द्र, वडा नम्बर-२ र नाग्म-गमगढी राजमार्गबीचको दैनिक सम्बन्ध नै टुटेको थियो।

चार वर्षसम्म स्थानीयले जोखिमपूर्ण यात्रा, घुमाउरो बाटो र सेवा लिन अनावश्यक सास्ती भोगे। अहिले त्यही स्थानमा नयाँ मोटरेबल बेलिब्रिज निर्माण सम्पन्न भएसँगै वर्षौंदेखिको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

२०७९ सालको बाढीले गाउँपालिका केन्द्र नराकोटदेखि नाग्म-गमगढी सडक जोड्ने पुलमा ठूलो क्षति पुर्‍याएको थियो। पुलमात्र होइन, वरपरको भूभागसमेत कटान भएपछि संरचना नदीको बीचमा ठिङ्ग उभिएको जस्तो देखिन्थ्यो। त्यसयता सिंजा-२ का स्थानीयले गाउँपालिका पुग्न आचार्यलिही हुँदै डेढदेखि दुई घण्टासम्म घुमेर जानुपर्ने बाध्यता व्यहोरे।

स्थानीय राजकली वडका अनुसार पुलको अवस्था यति जोखिमपूर्ण थियो कि भारी बोकेर हिँड्न त परै जाओस्, खाली हात वारपार गर्न पनि डर लाग्थ्यो। हिउँदमा अत्यधिक चिसोका कारण नदी तर्न सकिँदैनथ्यो भने बर्खामा भेलबाढीले आवतजावत नै बन्द गरिदिन्थ्यो।

आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले करिब ५२ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको पुल एक वर्ष नबित्दै बाढीले क्षतिग्रस्त बनाएको थियो। त्यसपछि चार वर्षसम्म स्थानीयले यसको प्रत्यक्ष असर भोगे। स्थानीय जनप्रतिनिधिहरूका अनुसार त्यसबेला दीर्घकालीन जोखिमको पर्याप्त अध्ययन नगरी निर्माण गरिएकाले सरकारी लगानी टिकाउ हुन सकेन।

अहिले गाउँपालिकाको आफ्नै बजेट र संघीय सरकारको समपूरक अनुदानबाट करिब साढे ६ करोड रुपैयाँ लागतमा कोटेसाँघु र रनुखाना गरी दुई मोटरेबल पुल निर्माणको योजना अघि बढाइएको छ। तीमध्ये कोटेसाँघुको पुल निर्माण सम्पन्न भइसकेको छ, भने रनुखानाको पुल निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार २०७९ को विपद्ले बगाएको पुल पुनर्निर्माण स्थानीय सरकारको प्राथमिकतामा परेको थियो। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले तोकिएको समयअघि नै निर्माण सम्पन्न भएको र छिट्टै पूर्ण सञ्चालनमा आउने बताए।

वडा नम्बर-२ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता तीर्थ वडका अनुसार पुल सञ्चालनमा आएपछि गाउँपालिका केन्द्र, वडा नम्बर-२ र नाग्म-गमगढी राजमार्गबीचको दूरी छोटिनेछ। विद्यार्थी, सेवाग्राही, किसान र बिरामीले अब जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ।

कोटेसाँघुको पुल पुनर्निर्माणले चार वर्षअघि बाढीले बगाएको एउटा संरचना मात्र होइन, विकास, सेवा र नागरिकको दैनिक जीवनसँग जोडिएको सम्बन्ध पनि पुनःस्थापित गरेको छ।

पुल निर्माण जिम्मा रिडार्क रवि चक्र जेभी ललितपुरले लिएको थियो। उक्त दुईवटा पुलको ठेक्का एउटै भएको र गत साउनमा ठेक्का आह्वान गरिएको थियो।