राप्रपाका पूर्वमहामन्त्री धवलशम्सेर राणाले तराई क्षेत्रमा बढेको तनावप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेका हुन्।

सुनसरीको देवानगन्ज र कप्तानगन्जबाट सुरु भएको विवाद मधेश प्रदेशका अन्य जिल्लाहरूमा फैलिएपछि तराईको सुरक्षा अवस्था संवेदनशील बनेको छ। झडप, विरोध प्रदर्शन र आगजनीका कारण जनजीवन अस्तव्यस्त हुनुका साथै जनधनको क्षति भएकोप्रति उनले दुःख व्यक्त गरेका छन्।

राणाले भनेका छन्, ‘यस संवेदनशील घडीमा पूर्ण रुपमा जिम्मेवार बनेर शान्ति सुव्यवस्था तत्काल कायम गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु। साथै, आम नागरिकको जिउधनको रक्षा गर्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग जोडदार माग गर्दछु।’

नेपालको मौलिकता अनेकतामा एकता र विविधताको सम्मान गर्ने सहिष्णु मान्यतामा आधारित रहेको उल्लेख गर्दै उनले सहिष्णुताको विरासत बचाउन सबैको साझा कर्तव्य भएको बताएका छन्।

उनले वार्ता र संवादका माध्यमबाट तनाव अन्त्य गर्न, शान्तिको बाटोबाट समाधान खोज्न तथा धैर्य र संयमता अपनाएर आपसी सद्भावको रक्षा गर्न सम्पूर्ण सरोकारवाला पक्षहरूसँग अनुरोध गरेका छन्।