राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि गरिएको अपमानजनक तथा अमानवीय व्यवहारको घटनामा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति जारी गर्दै गत साउन ७ गते गढीमाई नगरपालिका ४ पर्सा रामजानकी मठ परिसरमा सांसद पौडेलले जनतासँग गुनासो सुनुवाइ गरिरहेका बेला केही व्यक्तिहरूले कार्यक्रम स्थलमा प्रवेश गरी दुर्व्यवहार गरेका थिए।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले ‘मधेश मुक्ति अभियान जिन्दाबाद’ लगायतका नारा लेखिएका पर्चा प्रदर्शन गर्दै सांसद पौडेलप्रति कालोमोसो फ्याकेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिका–३ घर भई हालवडा नं. ७ धनाडी बस्ने २० वर्षीय शेख इर्फान तथा गढीमाई नगरपालिका वडा नम्बर ३ गम्हरिया बस्ने १९ वर्षीय इर्फान अन्सारीलाई साउन १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको समेत खोजीकार्य जारी रहेको प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताए।

जनप्रतिनिधिमाथि सार्वजनिक कार्यक्रममै भएको दुर्व्यवहारलाई लिएर विभिन्न राजनीतिक दल तथा सरोकारवालाले दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्। प्रहरीले पछिल्लो पक्राउसँगै घटनाको अनुसन्धान निर्णायक चरणमा पुगेको जनाएको छ।

यस घटनाका दोषीमाथि कारबाही माग गर्दै सासद पौडेल स्वयं इलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दर्ता गराउँदै रास्वपा रौतहटले रौतहट प्रहरीलाई २४ घन्टाभित्र अपराधी पक्राउ गर्न अल्टिमेटम दिएको थियो।