युक्रेनभरि रूसले गरेको ठूलो लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा आठ नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

मस्कोले पश्चिमा देशहरूले आपूर्ति गरेका एन्टी-ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीको अभाव रहेको मौका छोप्दै युक्रेनी सहरहरूमा बमबारी तीव्र पारेको छ। यसैक्रममा, युक्रेनमाथिको आक्रमणका क्रममा एउटा रूसी क्रूज क्षेप्यास्त्र नेटो सदस्य राष्ट्र पोल्याण्डको भूभागभित्र गहिरो गरी खसेको छ।

बिहीबार बिहान पोल्याण्डको सीमा नजिकैको भूभागमा एउटा क्षेप्यास्त्र खसेर ठूलो विस्फोट भएको थियो, जसले गर्दा खेतको बिचमा ठूलो खाडल बनेको छ। पोल्याण्डको सेनाले लुब्लिन प्रान्तको टार्नावा-कोलोनिया गाउँ नजिकैको अविकसित क्षेत्रमा मिसाइल दुर्घटनाग्रस्त भएको बताएको छ। खतराको सामना गर्न नेटोका लडाकु विमान, रिफ्युलिङ विमान, पोलिश प्रारम्भिक चेतावनी विमान र हेलिकप्टरहरू तत्काल आकाशमा तैनाथ गरिएका थिए।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आपतकालीन सरकारी बैठकमा भने, ‘सबै संकेतहरूले यो रूसी केएच-१०१ क्रूज मिसाइल भएको संकेत गर्छ। यदि मिसाइलले आफ्नो उडान जारी राखेको भए हामी त्यसलाई खसाल्न तयार थियौं’

टस्कले पछि घटनास्थलको निरीक्षण गर्दै पोल्याण्डलाई लक्षित लक्ष्य मान्ने कुनै कारण नरहेको स्पष्ट पारे। युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले पनि सामाजिक सञ्जालमार्फत रूसी क्रूज मिसाइल युक्रेनविरुद्धको हमलाको क्रममा नेटोको हवाई क्षेत्र उल्लंघन गर्दै पोल्याण्डमा प्रवेश गरेको बताए।

यस आक्रमणको लहरले देशभर कम्तीमा आठ जनाको ज्यान लिएको छ, जसमा एकै परिवारका छ सदस्य पनि समावेश छन्। क्रिभी रिह नजिकैको रादुस्ने गाउँमा ब्यालिस्टिक क्षेप्यास्त्रले एक परिवारको घर पूर्ण रूपमा ध्वस्त पार्दा आमाबाबु र चार बालबालिकाको मृत्यु भएको हो। स्थानीय प्रशासनले यसलाई ‘अँध्यारो रात’ भनेको छ, जहाँ उद्धारकर्मीहरूले भग्नावशेषबाट थप दुई बालबालिलाई जीवितै उद्धार गरेका छन्।

त्यसैगरी, राजधानी कीभमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुँदा एक ३१ वर्षीय पुरुषको मृत्यु हुनुका साथै आवासीय भवन र बजार क्षेत्र क्षतिग्रस्त भएका छन्। पश्चिमी सहर लभिभमा भएको आक्रमणमा बालबालिकासहित ३४ जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पोल्टाभा लगायत अन्य क्षेत्रहरूमा पनि ड्रोन आक्रमणका कारण कम्पनीका गोदामहरूमा क्षति पुग्नुका साथै मानवीय क्षति भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिंगटनमा अमेरिकी अधिकारीहरूसँग भेट गरेर प्याट्रियट वायु रक्षा प्रणालीको छिटो डेलिभरीका लागि आग्रह गरेको केही दिनपछि यो भीषण आक्रमण भएको हो। जेलेन्स्कीले रूसले ७० भन्दा बढी क्षेप्यास्त्र र २८० भन्दा बढी आक्रमण ड्रोन प्रहार गरेको जानकारी दिएका छन्। उनका अनुसार युक्रेनी वायु रक्षा फौजले साझेदारबाट क्षेप्यास्त्रको गम्भीर अभावका बाबजुद पनि २६० भन्दा बढी ड्रोनहरू रोकेर प्रशंसनीय काम गरेको छ। ‘यो रूसी आतंकले फेरि एक पटक प्रमाणित गर्छ कि हाम्रा जनताको जीवन बचाउने कुरामा रूसी क्षेप्यास्त्रको खतराबाट सुरक्षा सबैभन्दा महत्त्वपूर्ण काम हो’ उनले भनेका छन्।

रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा जमिन, हावा र समुद्रबाट लामो दूरीको सटीक हतियारहरू प्रयोग गरेर युक्रेनभरिका सैन्य स्थलहरू, ड्रोन उत्पादन कारखाना, भण्डारण डिपो र हतियार कारखानामा ठूलो हमला गरिएको दाबी गरेको छ।

यसैबीच, रूसको रक्षा मन्त्रालयले आफ्ना वायु रक्षा प्रणालीले रातीभर २५८ युक्रेनी ड्रोनहरू खसालेको बताएको छ। युक्रेनले भने रूसभित्र गहिरो प्रहार गर्दै पेन्जा क्षेत्रको वाइल्डबेरीज अनलाइन रिटेलरको डिपो र उदमुर्तिया क्षेत्रको सारापुलमा रहेका गोदामहरूमा ड्रोन आक्रमण गरेको जनाएको छ, जसले गर्दा रूसी सेनालाई सामान आपूर्ति गर्ने आपूर्ति शृङ्खलामा असर पुग्ने उसको विश्वास छ। एजेन्सी