नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले सुनसरी, सिराहालगायत तराईका विभिन्न जिल्लामा देखिएको द्वन्द्व तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बिहीबार जारी वक्तव्यमा उनले धार्मिक तथा जातीय सहिष्णुता नेपालको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै कुनै पनि जातीय वा धार्मिक विषयका कारण समाज विभाजित हुन नहुने बताएका छन्।

नेपालले भनेका छन्, “गौरवपूर्ण इतिहास र परम्परा बोकेको हाम्रो समाजलाई कुनै पनि जातीय वा धार्मिक विषयले विभाजित बनाउनु हुँदैन। अतः घटनाको सत्यतथ्य छानबिन गर्न र सामाजिक सद्भाव कायम गर्ने विषयमा तत्काल गम्भीर कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।”

उनले पछिल्ला घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

साथै, सहसंयोजक नेपालले आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राज्यका सबै निकाय, राजनीतिक दल र तिनका कार्यकर्ता, सामाजिक तथा धार्मिक संघसंस्था, नागरिक समाज र सम्पूर्ण नागरिकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन्।