काठमाडौं जनता समाजवादी पार्टी, नेपालले सुनसरी र सिरहामा हालै घटेका घटनाहरूमा गम्भीर दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
पार्टीका प्रवक्ता मनीषकुमार सुमनद्वारा जारी विज्ञप्तिमा सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा प्रहरीको गोली लागेर निधन भएका ओमप्रकाश मेहता र सिरहाको गोलबजारमा निधन भएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। जसपा नेपालले मृतकका परिवारलाई उचित राहत दिन र घाइतेहरूको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
धार्मिक सहिष्णुता खल्बल्याउने, हिंसात्मक गतिविधि फैलाउने र आपसी द्वन्द्व सिर्जना गर्ने षड्यन्त्रलाई परास्त गर्न सबै जनसमुदायलाई शान्ति, आपसी सद्भाव र एकता कायम राख्न अपिल गरिएको छ। पार्टीले सामाजिक सद्भाव जोगाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा समेत जोड दिएको छ।

प्रतिक्रिया