मधेश प्रदेशमा सक्रिय गाँजा तस्करीको सञ्जालमाथि प्रहरीले लगातार प्रहार गर्न थालेपछि ठूलो परिमाणमा लागूऔषध बरामद हुन थालेको छ।

विशेषगरी नेपाल-भारत खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ गाँजा तस्करी गर्ने गिरोहमाथि प्रहरीले निगरानी बढाएसँगै सर्लाही र सप्तरीमा केही दिनको अन्तरालमै तीन टनभन्दा बढी गाँजा बरामद भएको छ। गत साउन १० गते जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बलरा नगरपालिका-७ गडहिया डुमरियास्थित भोला सिंहको कुखुरा फार्ममा छापा मारेर ३३० किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको थियो।

बलरा नाकाहुँदै भारततर्फ गाँजा तस्करीको तयारी भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले बा.प्र.०१-०२६ च २८८६ नम्बरको पिकअपसहित लागूऔषध कारोबारी गडहिया डुमरियाका २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

यस्तै, गत साउन ७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले तिलाठी कोइलाडी गाउँपालिका-५ बाट ३ हजार ३३२ किलोग्राम ४६० ग्राम गाँजा बरामद गरेको थियो। हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका बा.प्र.०१-०२५ च ०४३६ नम्बरको स्कार्पियो, प्र.१-०४-००१ च १५०७ नम्बरको पिकअप र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको पिकअप खानतलासी गर्दा सवारीसाधनमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो।

पछिल्ला दिनमा मधेश प्रदेशका सीमानाकाबाट भारततर्फ ठूलो परिमाणमा गाँजा तस्करी गर्ने समूह सक्रिय रहेको देखिएपछि सुरक्षा निकायले निगरानी र चेकजाँच थप कडा बनाएको छ। त्यसको प्रत्यक्ष परिणामस्वरूप केही दिनमै ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद हुनुका साथै तस्करीमा प्रयोग गरिएका सवारीसाधन पनि धमाधम नियन्त्रणमा परेका छन्। यसले मधेशका जिल्लामा गाँजा तस्करी समूह सक्रिय रहेको पुष्टि गरेको छ।

लागूऔषध कारोबार भयावह
नेपाल-भारत खुला सीमाको दुरुपयोग गर्दै फैलिएको लागूऔषध कारोबार नियन्त्रण गर्न प्रहरीलाई चुनौती थपिएको छ।

मधेश प्रदेशमा लागूऔषधविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत सीमाक्षेत्रमा नियमित निगरानी, हरेक नाकामा कडा चेकजाँच तथा सङ्गठित अपराधविरुद्धको कारबाहीका कारण लागूऔषध सेवनकर्ता र कारोबारीलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय देखिएको छ।

मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका सीमानाका हुँदै गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइन तथा विभिन्न प्रतिबन्धित औषधिजन्य पदार्थको अवैध कारोबारमा संलग्न व्यक्तिमाथि प्रदेशका आठवटै जिल्लामा निरन्तर कारबाही भइरहेको प्रहरी तथ्यांकले देखाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी २ हजार १२१ वटा मुद्दा दर्ता भएका छन् भने लागूऔषध कारोबार तथा सेवनमा संलग्न २ हजार ८११ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ हजार ५५४ जना नेपाली, २५३ जना भारतीय र एक जना विदेशी नागरिक रहेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालले लागूऔषध नियन्त्रणका लागि मातहतका सम्पूर्ण युनिटलाई शून्य सहनशीलताको नीति अपनाएर काम गर्न निर्देशन दिइएको बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रहरीले ८७१ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ। ६३० वटा मुद्दा दर्ता गरी प्रहरीले ७८६ जना नेपाली, ८४ जना भारतीय र एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। उक्त अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, ३ किलोग्राम अफिम, २ हजार ८३१ ग्राम हिरोइन, ४ लाख ७३ हजार ४८५ ट्याब्लेट, २ हजार ११८ बोतल सिरप र १८ हजार १२५ वटा इन्जेक्सन बरामद गरिएको प्रदेश प्रहरीको तथ्यांकले जनाएको छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधसम्बन्धी ५८५ वटा मुद्दा दर्ता भएका थिए। उक्त अवधिमा ८३६ जना पक्राउ परेका थिए। सो अवधिमा १६ हजार ५७३ किलोग्राम गाँजा, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, ६१ ग्राम ब्राउन सुगर, २ हजार ७०५ ग्राम हिरोइन, ३ लाख ७० हजार ४४२ ट्याब्लेट, ७ हजार ५०४ बोतल सिरप र ६१ हजार ३३३ वटा इन्जेक्सन बरामद गरिएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ७९७ वटा मुद्दा दर्ता भएका थिए। लागूऔषध सेवन तथा कारोबारमा संलग्न १ हजार १०४ जना पक्राउ परेका थिए। सो अवधिमा ८ हजार ५३९ किलोग्राम गाँजा, १२१ किलोग्राम चरेस, ५९४ ग्राम ब्राउन सुगर, १ ग्राम अफिम, १ हजार १३१ ग्राम ७.१११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ ट्याब्लेट, ३ हजार ४१६ बोतल सिरप र ५४ हजार ४०४ वटा इन्जेक्सन बरामद गरिएको प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ।

नेपाल-भारत सीमाको दुरुपयोग गर्दै सीमावर्ती भारतीय बजार तथा औषधि पसलबाट प्रतिबन्धित औषधिजन्य पदार्थ सहजै नेपाल भित्रिने गरेको छ। त्यही मार्ग प्रयोग गरी लागूऔषध राजधानी काठमाडौंलगायत देशका अन्य सहरसम्म पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सीमा क्षेत्रमा आवतजावत गर्ने युवालाई लक्षित गरी चेकजाँच कडा पारिएपछि दैनिकजसो लागूऔषधसहित व्यक्तिहरू पक्राउ पर्ने गरेको प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ढकालले बताए।

पछिल्लो समय लागूऔषध दुव्र्यसनको समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै उनले अब युवामा मात्र सीमित नरही बालबालिका, किशोरकिशोरी र महिलासमेत यसको चपेटामा पर्न थालेको बताए। विद्यालय छाडेका, बेरोजगार तथा गलत सङ्गतमा परेका युवाहरू दुव्र्यसनतर्फ आकर्षित भइरहेको उनको भनाइ छ।

लागूऔषध नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले अभिभावक, विद्यालय, शिक्षक, समुदाय, स्थानीय तह तथा सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको बताए।