सुनसरीको देवानगञ्जको घटनापछि उत्पन्न असहज परिस्थितिका कारण बुधबार पनि विहानीसत्रका क्याम्पसहरू बन्द हुने भएका छन् । शिक्षादिप कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्काका अनुसार अवस्था सामान्य भइनसकेका कारण बुधबार पनि विराटनगरका विहानी सत्रका कलेजहरू बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार अबस्था सामान्य भएपछि मात्रै कलेजहरू सञ्चालनमा आउने छन् । यता प्याव्सन विराटनगर महानगरपालिकाका अध्यक्ष अर्जुन श्रेष्ठले आफूहरू विद्यालय बन्द गर्ने निकाय नभएको बताए । उनले विद्यालयहरूले बुधबार विहानको अवस्था मुल्यांकन गरेरमात्रै विद्यालय बन्द गर्ने की सञ्चालन गर्ने भन्ने निर्णय गर्ने जानकारी दिए ।

उनले भने‘ भोलिको अवस्था हेरेर मात्रै विद्यालय बन्द गर्ने वा खुलाउने भन्ने निर्णय गछौं ।’ केहि विद्यालयहरूले भने बुधबार विद्यालय बन्द गर्ने सूचना जारी गरिसकेका छन् ।

सुनसरीको घटना पछि विराटनगरमा पनि प्रदर्शन, बन्द हड्ताल लगायतका कार्यक्रम भइरहेका कारण मंगलबार सबै शैक्षिक संस्थाहरू बन्द बन्द भएका थिए । विराटनगरको बजार, पसलहरूसमेत बन्द गरिएको थियो । बन्द गरिएका बजार र पसलहरू मंगलबारसाँझदेखि भने खुलेका थिए ।