नेपालका राष्ट्रिय निकुञ्जमध्ये बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा ऐतिहासिक सफलता हासिल गरेको छ। पछिल्लो बाघ गणनामा यहाँ बाघको संख्या शतप्रतिशतभन्दा बढीले बढेर २५ बाट ५१ पुगेको छ। बाघका लागि सुरक्षित बासस्थान, पर्याप्त मात्रामा आहारा र पानी उपलब्ध हुँदा बाँके राष्ट्रिय निकुञ्जलाई बाघ संरक्षणमा ऐतिहासिक सफलता मिलेको हो।

उता, एक समय सबैभन्दा धेरै बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ ले घटेको छ। सार्वजनिक गरिएको पछिल्लो गणनाअनुसार देशका प्रमुख पाँच राष्ट्रिय निकुञ्जमध्ये प्रतिशतका आधारमा सबैभन्दा ठूलो वृद्धि बाँकेमा भएको हो। चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेका छन्। अघिल्लो गणनामा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ थिए। यस आधारमा चितवनमा १७, पर्सामा ३०, शुक्लाफाँटामा १४ र बाँकेमा २६ वटा बाघ थपिएका छन् भने बर्दियामा १३ वटा घटेका छन्।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बाँकेमा बाघको संख्या दोब्बर हुनु संरक्षणमा संलग्न सबै पक्षको सामूहिक प्रयासको परिणाम भएको बताए। निकुञ्ज प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संरक्षण साझेदार संस्था तथा स्थानीय समुदायको निरन्तर सहयोगले सकारात्मक नतिजा दिएको उनको भनाइ छ। उनका अनुसार बाघ बस्ने मुख्य आधार सुरक्षित बासस्थान र पर्याप्त आहारा हो। जहाँ बाघले आफूलाई सुरक्षित महसुस गर्छ र सहजरूपमा आहारा पाउँछ, त्यही क्षेत्रलाई उसले स्थायी बासस्थान बनाउने गर्दछ। बाँकेमा पछिल्ला वर्षहरूमा यही वातावरण तयार भएकाले बाघको संख्या उल्लेख्य रूपमा बढेको उनले बताए।

कँडेलका अनुसार बाँके र बर्दिया एकअर्कासँग जोडिएका जैविक मार्ग भएका निकुञ्ज हुन्। त्यसैले एउटा निकुञ्जबाट अर्को निकुञ्जमा बाघको आवतजावत स्वाभाविक प्रक्रिया हो। बर्दियामा संख्या घट्नु र बाँकेमा बढ्नुको एउटा कारण केही बाघले नयाँ क्षेत्र रोज्नु पनि हुन सक्ने उनले बताए। ‘बाघ प्रशासनिक सीमाभित्र होइन, उपयुक्त बासस्थान खोजेर बस्छ,’ उनले भने। बाँकेको चुरे-भावर क्षेत्र प्राकृतिक रूपमा सुख्खा भएकाले पानीको अभाव वन्यजन्तु संरक्षणको प्रमुख चुनौती थियो। यही समस्यालाई मध्यनजर गर्दै निकुञ्जले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेको, विभिन्न स्थानमा पाइपमार्फत पानी पुर्याएर जलाशय तयार गरेको र वर्षभरि पानी उपलब्ध हुने व्यवस्था मिलाएको छ। यसबाट बाघसँगै चित्तल, जरायो, चौका, निलगाईलगायतका आहारा प्रजातिलाई पनि प्रत्यक्ष लाभ पुगेको निकुञ्जको भनाइ छ।

घाँसे मैदानको नियमित व्यवस्थापनले आहारा प्रजातिको संख्या वृद्धि भएको छ। पर्याप्त आहारा उपलब्ध भएपछि बाघको प्रजनन र स्थायित्वमा समेत सकारात्मक प्रभाव परेको संरक्षणकर्मीहरू बताउँछन्। त्यससँगै चोरीसिकारी नियन्त्रणका लागि गस्तीलाई थप प्रभावकारी बनाइएको र वन्यजन्तुको बासस्थानमा हुने अतिक्रमण रोक्न विशेष ध्यान दिइएको छ। यद्यपि बाघको संख्या बढ्नु मात्र अन्तिम उपलब्धि नभएको कँडेल बताउँछन्। उनका अनुसार अब संरक्षणसँगै मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन अझ चुनौतीपूर्ण बनेको छ। बाघको संख्या बढेसँगै बस्ती आसपास देखापर्ने सम्भावना पनि बढ्ने भएकाले स्थानीय समुदायको सुरक्षा, जनचेतना र क्षतिपूर्ति व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए।

संरक्षण विज्ञहरूका अनुसार बाँके राष्ट्रिय निकुञ्जको यो उपलब्धिले उचित बासस्थान व्यवस्थापन, पर्याप्त आहारा, पानीको सुनिश्चितता र चोरीसिकारी नियन्त्रणलाई प्रभावकारी बनाउन सके छोटो अवधिमै उल्लेखनीय नतिजा हासिल गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ। अब यो उपलब्धिलाई दीगो बनाउँदै बाघ र मानवबीचको सहअस्तित्व कायम राख्नु नै संरक्षण अभियानको सबैभन्दा ठूलो परीक्षा हुने देखिएको छ।