फैसला लेख्दा अन्य व्यक्तिको तर्क जस्ताको तस्तै सार्ने गरेको पाइएपछि हङकङ उच्च अदालतका न्यायाधीश विल्सन चानलाई अवकाश लिन आदेश दिइएको छ।

प्रधानन्यायाधीश एन्ड्रयु चेउङ कुई-नुङले हङकङ उच्च अदालतका न्यायाधीश विल्सन चान का-शुनलाई फैसलामा तर्कहरू चोरी गरेकोमा हप्काउँदै चाँडै अवकाश लिन भनेका हुन्। उनले यस्ता घटनाहरूको शृङ्खलाले जनताको विश्वासलाई कमजोर बनाउने बताए।

साउथ चाइना मर्निङ पोस्टका अनुसार विल्सन चानको बारम्बारको न्यायिक चोरीले सम्बन्धित पक्षहरूको हितमा प्रतिकूल असर पारेको पाइएको छ। उनले पुनरावेदन न्यायिक स्रोतहरूमा अनावश्यक बोझ थपिदिनुका साथै आफ्नो कर्तव्य निर्वाह गर्ने क्षमतामा जनताको विश्वासलाई कमजोर बनाएका छन्।

‘त्यसैले मैले आज औपचारिक रूपमा श्री न्यायाधीश चानलाई न्यायिक पदबाट चाँडै अवकाश लिन अनुरोध गरेको छु,’ प्रधानन्यायाधीश चेउङले भने, ‘श्री न्यायमूर्ति चानले तदनुसार आफ्नो अवकाश आवेदन पेश गर्नुभएको छ, र मैले जुलाई ३१, २०२६ देखि लागू हुने गरी सार्वजनिक हितमा यसलाई अनुमोदन गरेको छु।’

यस महिनाको सुरुमा, पुनरावेदन अदालतले सन् २०२४ को मुद्दाको फैसलामा प्रतिरक्षा वकिलको तर्कको लगभग ९५ प्रतिशत नक्कल गरेको पत्ता लगाएपछि पुनरावेदनको आदेश दिएको थियो। यो घटनाले प्रधानन्यायाधीश चेउङ र उच्च अदालतका मुख्य न्यायाधीश जेरेमी पून शिउ-चोरलाई उनलाई गम्भीर रूपमा हप्काउन बाध्य बनायो।

सन् २०२३ मा पनि बौद्धिक सम्पत्तिसम्बन्धी विवादमा वादी पक्षको तर्क ९८ प्रतिशतभन्दा बढी शब्दशः सार्दF चानले यस्तै हप्काइको सामना गर्नु परेको थियो।