भारतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित मिडिया ब्रिफिङमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाइएको बताए पनि भ्रमणको मिति भने आपसी सहमतिमा तय हुने उल्लेख गरेका छन्।

यो निमन्त्रणालाई दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र सुमधुर बनाउने दिशामा चालिएको एक महत्त्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि नेपालले छिमेकी मुलुकहरूसँगको कूटनीतिक संलग्नतालाई तीव्रता दिँदै लगेको छ।

यसअघि, सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीन दुवै देशको औपचारिक भ्रमण गरिसकेका छन्।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि हालै भारतको भ्रमण गरेका थिए। उनी निकट भविष्यमा चीन भ्रमणमा जाने तयारीमा रहेको बताइएको छ।