प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहले सुनसरीमा उत्पन्न भएको तनाव छिट्टै साम्य हुने विश्वास व्यक्त गर्दै नेपालको धार्मिक सहिष्णुता बलियो रहेकाले कुनै पनि अतिवादी प्रयास सफल नहुने बताएका छन्।

उनले नेपालमा अन्य देशहरूमा जस्तो धार्मिक समुदायबीच टकराव र तिक्तताको अवस्था नरहेको उल्लेख गर्दै हिन्दु र मुस्लिम समुदायबीच परम्परादेखि नै आपसी सम्मान र सद्भाव कायम रहेको बताए।

साहले भने, “अन्य देशहरूमा जस्तो नेपालमा धार्मिक समुदायहरूबीच टकराव र तिक्तता छैन। हिन्दु र मुस्लिमहरूबीच पनि परम्परादेखि नै उच्च सहिष्णुता छ। हामी एक–अर्काको चाडपर्वमा खुसीसाथ सहभागी हुन्छौँ, शुभकामना आदानप्रदान गर्छौँ। यस्तो सद्भावपूर्ण अन्तरसम्बन्धलाई विथोल्न खोज्नेहरू सफल हुने छैनन्।”

सुनसरीको घटनालाई सरकारले गम्भीर र संवेदनशील रूपमा लिएको उल्लेख गर्दै उनले तत्काल आवश्यक कदम चालिएको बताए। उनका अनुसार सरकारले गठन गरेको छानबिन समितिले घटनाको सत्यतथ्य सार्वजनिक गर्नेछ र त्यसकै आधारमा थप निर्णय गरिनेछ।

घटनाका क्रममा गोली लागेर एक नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै साहले गोली चलाउनुपर्ने अवस्था थियो वा थिएन भन्ने विषयमा पनि छानबिन समितिले विस्तृत अध्ययन गर्ने बताए।

उनले भने, “गोली चलाउनुपर्ने परिस्थिति थियो वा थिएन भन्ने छानबिन समितिले अध्ययन गर्छ र त्यसको निष्कर्षका आधारमा सरकारले उचित निर्णय लिन्छ।”