पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती ‘प्रतीक्षा’ नियुक्त भएकी छन्।
महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको समितिले सिफारिस गरेबमोजिम पोखरा महानगरपालिकाले प्रतीक्षालाई कुलपतिमा नियुक्त गरेको हो।
त्यस्तै, उपकुलपतिमा पुन आर्टका सञ्चालक तथा साहित्यकार तिलक पुन पुर्जा मगर र सदस्य–सचिवमा जीवन दाहाल (लोकगीत, संगीत) नियुक्त भएका छन्।
प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यहरूमा श्रीजङ्ग गुरुङ, हरेराम जोजिजु , दिलीप गायक र प्रमीला ताम्राकार तुलाचन नियुक्त भएका छन्।
यसैगरी, प्रतिष्ठानको प्राज्ञ सभा सदस्यहरूमा भास्करध्वज श्रेष्ठ (संगीत तथा व्याण्ड), कल्पना चिलुवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य), ज्योति गुरुङ (फाइन आर्ट, ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत), रवीन्द्र माकाजु (साहित्य तथा ईतिहास), रिता पहारी (साहित्य तथा कला) र शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत) नियुक्त भए।
महानगरले पदाधिकारी रिक्त रहेको डेढ वर्षपछि मात्रै नयाँ पदाधिकारी नियुक्त गरेको थियो। प्रतिष्ठानका पदाधिकारी डेढ वर्षसम्म नहुँदा पोखरामा भाषा, साहित्य, कला, संगीतलगायतका क्षेत्रका गतिविधि ठप्प भएका थिए।
नियुक्त भएका कुलपति प्रतीक्षासहित सबैलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार बिहान जिम्मेवारीसहित नियुक्ति पत्र प्रदान गरेका छन्। प्रतिष्ठानको कार्यालय महानगरले हालै बनाएको पोखरा घरमा रहेको छ।
कार्यक्रममा मेयर आचार्यले प्रतिष्ठानका गतिविधिहरू मार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषा लगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले भने,‘प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।’ उनले प्रतिष्ठानका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए।
कार्यक्रममा बोल्दै उपप्रमुख मजुदेवी गुरुङले नगर क्षेत्रको साहित्य, कला, भाषा, सृजना र संस्कृतिको विकासमा प्रतिष्ठानले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
नवनियुक्त कुलपति प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता जाहेर गरिन्। पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आफूहरू समर्पित भएर लाग्ने उल्लेख गर्दै उनले भनिन्,‘पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
प्रतिष्ठानको संस्थापक कुलपति पद्मराज ढकाल बनेका थिए। महानगरले पर्याप्त बजेट नदिँदा उनको कार्यकाल अभावै अभावमा बितेको थियो।

प्रतिक्रिया