पर्साको जिल्ला सुरक्षा समितिले आज (बिहीबार) साँझ ५ बजेदेखि वीरगन्ज महानगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञाबीच पनि ठाउँ-ठाउँमा प्रदर्शन गरिएको छ।

दिउँसो सिरहाको गोलबजारमा सुरक्षाकर्मीको गोली प्रहारबाट गणेश यादवको मृत्युको खबरले आक्रोशित बनेका युवाहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्। दोषीलाई कारबाही गर लगायतको नारा लगाउँदै माइस्थान, घण्टाघर, आदर्शनगर लगायत वीरगन्जको मुख्य-मुख्य स्थानहरूमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले विरोधमा नेपाल बन्दको घोषणासमेत गरेका छन्।

प्रदर्शनकारीलाई उग्र भएर सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट गर्न नदिनका लागि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। पर्साका प्रहरी पवन भट्टराईले वीरगन्जमा निषेधाज्ञा जारी गरिएपछि प्रदर्शनकारीहरूलाई प्रदर्शन रोकेर घर फर्काउने कार्य सुरक्षाकर्मीहरूले गरिरहेको बताए। उनका अनुसार प्रदर्शनलाई उग्र हुन नदिनका लागि सुरक्षाकर्मीहरूले निगरानी बढाएर कार्यक्षेत्रमा खटाइएको छ।

जिल्ला सुरक्षा समितिले आज (बिहीबार) साँझ ५ बजेदेखि भोलि (शुक्रबार) बिहान ६ बजेसम्म वीरगन्जमा निषेधाज्ञा जारी गरेको छ। पर्साको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरिएको निषेधाज्ञामा पूर्वमा प्रतिमा चोकदेखि बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्र सीमाना तोकिएको छ।

तोकिएको सीमा क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन। निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ।

गत साउन ११ गते सोमबारको दिन बोलबम यात्राका लागि डिजे बाजा बजाउने क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समुदायबिच भडप भएको थियो। झडपलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज-४ का २४ वर्षीय ओमप्रकाश मेहताको सोही राति उपचारका क्रममा मृत्यु भएको थियो।

त्यस्तै, गम्भीर घाइते भई विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि साउन १४ गते मृत्यु भयो। सुरक्षाकर्मीहरूको गोली प्रहारबाट अहिलेसम्म तीन जनाको मृत्यु भएसँगै सरकार र सुरक्षा निकायप्रति जनआक्रोश बढेको छ।