शब्दार्थ प्रकाशनको नियात्राकार विवेक शर्मा गौतमकाे `मेरो अमेरिका यात्रा´नियात्रासंग्रह लाेकार्पण गरेकाे छ।
कार्यक्रमका सभाध्यक्ष शब्दार्थ प्रकाशनका निर्देशक विनयकुमार शर्मा नेपाल लगायत प्रमुख अतिथि साहित्यकार तथा विचारक युवराज ज्ञवाली, विशिष्ट अतिथिहरू इ. दामोदर रेग्मी, साहित्यकार त्रिलोचन ढकाल, डा. बमबहादुर जिताली, खेमराज पोखरेल , लता केसी, समीक्षकद्वय शेखर अर्याल, ज्ञाननिष्ठ ज्ञवाली र कृतिकार गौतमले पुस्तकको लाेकार्पण गरेका हुन्।
राष्ट्रिय गान बजाएर कार्यक्रमको उद्घाटन गरिएको थियो। कृति विमोचनपश्चात विमोचित कृतिको समीक्षात्मक टिप्पणी गर्दै समीक्षक शेखर अर्याल ` शेतिक´ले कृतिकारको लेखन शैली र विकासमाथि चर्चा गरे। कृतिमा समेटिएका २५ शृङ्खलामा नियात्राकार गौतमले यात्राको घटनाहरूमा सूक्ष्म रूपले चित्रण गरेको, कौतहूल र जिज्ञासापूर्ण लेखन, सरलताभित्र विशिष्टताले मन छुने लेखन रहेको बताए।भाषिक रूपमा कही कतै चुकेको टिप्पणी गरे।
अर्का समीक्षक ज्ञाननिष्ठ ज्ञवालीले नियात्रासङ्ग्रहमाथि समीक्षा गर्दै अमेरिका यात्राको घटना र अनुभूति पोख्दै गर्दा लेखक स्वयम् नेपाल पुगेको अनुभूति रोमाञ्चक रहेको बताए। उनले नियात्रा लेखनबारे जानकारी गराउँदै आफ्नो यात्राको अनुभूति पनि सुनाए। नियात्रालेखनमा अनुच्छेदहरू लामा रहेका भन्दै आगामी दिनमा व्याकरणीय त्रुटिप्रति सावधान रहन सुझाए।
कार्यक्रमका विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी, रेग्मी, पोखरेल र केसीले शुभकामना मन्तव्यको क्रममा नियात्रासंग्रह लाेकार्पण भएकोमा खुसी व्यक्त गर्दै नियात्राकारको साहित्यिक व्यक्तित्वको विकासका लागि कामना गरेका थिए।
नियात्राकार गौतमले लेखकीय मन्तव्य प्रस्तुत गर्ने क्रममा कृतिप्रकाशनको गर्भबारे प्रकाश पार्दै उपस्थित सबैप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले कृतिकार गौतमसँगको अन्तरसम्बन्ध केलाए। उनले लोकतन्त्रमा पार्टी बलियो भए मात्र देश बलियो हुन्छ भन्ने धारणा राख्दै आफ्नो राजनितिक व्यक्तित्वबारे जानकारी गराए। अमेरिकाको उज्यालो पक्षलाई महत्त्व दिएर प्रकाशन भएको नियात्रासङ्ग्रहका लेखक गौतम एउटा असल नागरिक भएको बताउँदै कृतिको प्रचार र बिक्रीवितरण पक्षलाई व्यापक बनाउन प्रकाशकलाई घच्घच्याए।
कार्यक्रमको सभाध्यक्ष नेपालले कृति प्रकाशन र विमोचन समेत गर्ने अवसर प्रदान गरेकोमा खुसी प्रकट गरे। प्रकाशनको यात्रामा भएका अनुभूतिहरू साझा गर्दै अन्त्यमा कार्यक्रम समापन गरे।
हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले सञ्चालन गरेकाे सो कार्यक्रममा नियात्राकार विनोद नेपालले अतिथिहरूलाई स्वागत गरेका थिए।

प्रतिक्रिया