सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको झडपमा एक युवाको मृत्यु भएको घटनाप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले देशलाई अस्थिरता तर्फ धकेल्ने गतिविधि सह्य नहुने बताएका हुन्।
उनले लेखेका छन्, ‘सुनसरीको देवानगञ्जमा एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी साम्प्रदायिक दंगा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक घटना हो। अहिलेको वैज्ञानिक युग, बद्लिदो भूराजनीति र नेपालमा भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा जेनजी विद्रोह पछि नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले यस्ता अवान्छित र हानिकारक घटना हुन दिन उच्च विवेक र संयमको प्रयोग गरौं!’
उनले अगाडि भनेका छन्, ‘स्मरण रहोस्, अब हामी कसैलाई पनि यो वा उ बहानामा देशलाई अविकास र अस्थिरताको भूमरीमा फसाइराख्ने छुट छैन। आगामी दिन अझै चुनौतीपूर्ण हुनसक्छन्! हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन!’ साउन ११ गते राति कप्तानगञ्ज बजारमा डिजे बाजा बजाएको विषयलाई लिएर दुई समुदायबिच विवाद हुँदा झडप भएको थियो। झडपका क्रममा पसल र मोटरसाइकलमा तोडफोड तथा आगजनी भएको थियो। स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मीको गोली लागेर देवानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनापछि तनावग्रस्त बनेको सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रका पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको छ। सुरक्षा कमजोरीको कारण देखाउँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख केशव थेबे र कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेलाई जिम्मेवारीबाट हटाएर फिर्ता बोलाएको छ। सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ।

प्रतिक्रिया