सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझबाट पुन: हुलदंगा र झडप भइरहेको छ।

दुई समुदायबिच साँझ करिब ७ बजेबाट सुरु भएको हुलदंगा र झडप नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरू रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबिच अनियन्त्रित झडप भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार साँझ ठूलो संख्यामा भेला भएका दुई पक्षबिच घरेलु हतियारसहित दोहोरो झडप अहिले केही साम्य भएको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै, उनले भने, ‘साँझको भन्दा अहिले केही हदसम्म साम्य भए पनि स्थिति पूर्ण रूपमा प्रहरी नियन्त्रणमा आइसकेको छैन। दुई पक्षबिच झडप हुँदा के कति क्षति भयो, घाइते भए भन्ने आधिकारिक विवरण आइसकेको छैन। अहिले विवरण संकलन गर्न सक्ने अवस्था पनि छैन।’

कतिपय वृद्धवृद्धा र बालबालिका हुलदंगामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। लामो समयदेखिको मारपिट, हुलदंगा र झडपका कारण ठूलो हताहती भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी खटिएको भए पनि अनियन्त्रित भीडले लगातार आक्रमण गर्न थालेपछि ज्यान जोगाउनलाई सुरक्षाकर्मी नै भाग्नुपर्ने अवस्था आएको छ।