सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगन्जमा एक जनाको ज्यान जानेगरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकारसम्बद्ध संस्थाले माग गरेका छन्।
मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कोशी प्रदेश, मानव अधिकार रक्षक सञ्जाल कोशी लगायतका संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।
आइतबार राती डिजे बजाउने विषयमा भएको विवादपछि उत्पन्न झडपका क्रममा गोली प्रहारबाट स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटना पछि सुनसरी, मोरङलगायतका विभिन्न जिल्लामा विरोध प्रदर्शनका कारण जनजीवन प्रभावित बनेको छ। कोशीका मानवअधिकारवादी संस्थाले विज्ञप्तिमा घटनाप्रति गहिरो दुःख समेत व्यक्त गरेका छन्। साथै घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको सुनिश्चितता गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा डिजे बजाउने र बजाउन नदिने पक्षबिचको असमझदारीपछि उत्पन्न परिस्थितिमा स्थानीय प्रशासनले पर्याप्त संयमता, सजगता र आवश्यक पहल गर्न नसक्दा मानव अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ। संविधानले प्रत्याभूत गरेको जीवन, स्वतन्त्रता, समानता र मर्यादासहित बाँच्न पाउने अधिकारको सम्मान गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र सूक्ष्म अनुसन्धान हुनुपर्नेमा जोड दिइएको छ।
मानव अधिकारकर्मीले राष्ट्रिय मानव अधिकार आयोग र सरकारले साउन ११ गते गठन गरेको छानबिन समितिले सत्यतथ्य सार्वजनिक गरी जिम्मेवार देखिएकामाथि कानुनअनुसार कारबाही गर्न मागसमेत गरेका छन्। अनुसन्धान प्रक्रिया पारदर्शी, विश्वसनीय र पीडितकेन्द्रित बनाउन तथा पीडित परिवारलाई राहत, उपचार, मनोसामाजिक सहयोग र कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन पनि उनीहरूले आग्रह गरेका छन्।
संस्थाले सुरक्षा निकायलाई बल प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको पालना गर्न, सबै पक्षलाई संयमता अपनाउन, अफवाह फैलाउनबाट जोगिन तथा सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्।

प्रतिक्रिया