दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रुप लिएर सुनसरी देवानगञ्जको वडा नं. ३ कप्तानगञ्जमा हिंसात्मक घटनापछि उत्पन्न परिस्थितीलाई साम्य पार्न प्रयास भइरहेका बेला फेरि दुई पक्षीय भिडन्त भएको छ ।

दिनभर एकपक्षीय रुपमा प्रदर्शन भएपनि साँझतिर भने दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिदा स्थिति भयावह भएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले साँझ सात बजेदेखि दुवै पक्ष भेला एकअर्काबिरुद्ध लागेका हुन् ।

उनका अनुसार साँझ ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप अहिले केही साम्य भएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । डिएसपी खड्काका अनुसार दुवै पक्ष अहिले समूह समूह बनाएर बसेका छन् । यसअघि हिन्दु पक्षले मात्र प्रदर्शन जारी राखेकोमा मंगलबार साँझदेखि मुस्लिम पक्ष पनि प्रदर्शन उत्रिएका हुन् ।

आइतबार राति दुई पक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं। ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सो घटनामा कम्तीमा २१ जना घाइते थिए, जसमा दुई जनाको अवस्था गम्भीर छ । घटनापछि स्थिती दिनदिनै थप तनाबग्रस्त बन्दै गएको छ ।