इन्डोनेसियामा सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा हिरासतमा रहेका पूर्व उप-महान्यायाधिवक्ता फेब्री एड्रियानस्याहको घरको काम हेर्ने एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ।
यो घटनाले इन्डोनेसियाको हाइप्रोफाइल भ्रष्टाचार मुद्दामा नयाँ मोड ल्याएको छ। विशेष अपराधका लागि इन्डोनेसियाका तत्कालीन उप-महान्यायाधिवक्ता रहेका फेब्रीको घरमा प्रहरीले छापा मारी ७४ किलोग्राम तौलको सुनको बार र दुई करोड अमेरिकी डलरभन्दा बढी मूल्यको विभिन्न विदेशी मुद्रा फेला पारेको थियो। उक्त बरामदगीपछि फेब्रीले ती सम्पत्तिहरूसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै आरोप अस्वीकार गरे पनि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए।
गत हप्ता उनलाई मनी लान्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा शंकास्पद व्यक्तिको रूपमा हिरासतमा लिइएको थियो। प्रहरीले देशका सबैभन्दा शक्तिशाली अधिकारीहरूमध्ये एक मानिने फेब्रीमाथि अनुसन्धान अगाडि बढाएपछि सुरक्षा निकायहरूबिच तनाव बढेको छ। त्यहाँ सेनाका केही सशस्त्र दस्ता प्रहरी मुख्यालय बाहिर देखिएपछि यस भ्रष्टाचार अनुसन्धानले इन्डोनेसियाको सेना र प्रहरीलाई समेत आमनेसामने बनाएको चर्चा चलेको छ।
जकार्ता महानगर प्रहरीका अनुसार सुत्रिमो नामका ती ४२ वर्षीय व्यक्ति दक्षिण जकार्ताको केबायोरन बारुस्थित ‘मोर्डेन्ट एस्थेटिक क्लिनिक’ को परिसरमा बेहोस अवस्थामा फेला परेका थिए। स्थानीय सञ्चार माध्यमका अनुसार सुत्रिमोले बिहीबार बिहान अचानक बिरामी भएको महसुस गरेपछि एक साथीलाई नजिकैको अस्पताल लैजान आग्रह गरेका थिए।
ती साथीले उनलाई नजिकैको क्लिनिकमा पुर्याएका थिए, जहाँ उनले बान्ता गरेका थिए र मुखबाट फिँज आएको थियो। क्लिनिकबाट थप उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स नआइपुग्दै उनको निधन भइसकेको बताइएको छ। यद्यपि, प्रहरीले मृत्यु हुनुअघिको यो घटनाक्रम र बान्ता सम्बन्धी विवरणहरूको आधिकारिक रूपमा पूर्ण पुष्टि भने गरिसकेको छैन।
जकार्ता प्रहरीका प्रवक्ता बुडी हर्मन्टोले अनुसन्धानकर्ताहरूले मृत्युको वास्तविक कारण खोजी गरिरहेको र फेब्रीको निवाससँग उनको औपचारिक सम्बन्ध के कस्तो थियो भन्नेबारे पनि सुक्ष्म जाँच भइरहेको जानकारी दिएका छन्। ‘यसको अझै अनुसन्धान भइरहेको छ,’ प्रवक्ता बुडीले भने। प्रहरीको फरेन्सिक टोलीले उक्त क्लिनिक क्षेत्रमा छानबिन गरिरहेको छ र प्रारम्भिक जाँचमा त्यहाँ कुनै विषालु पदार्थको अंश नभेटिएको बताए पनि मृत्युको कारणबारे विस्तृत अध्ययन भइरहेको छ।
प्रहरीले हाल सुत्रिमोको परिवार, एम्बुलेन्स चालक र अस्पतालका कर्मचारीसँग सोधपुछ गरिरहेको छ। ‘सबै तथ्यहरू स्थापित गर्न अनुसन्धान व्यावसायिक र सावधानीपूर्वक सञ्चालन भइरहेको छ। अनुसन्धान अझै जारी रहेकोले, हामी मृत्युको ठोस कारण अहिल्यै घोषणा गर्न सक्दैनौं,’ बुडीले थपे।
अर्कोतर्फ, पूर्व उप-महान्यायाधिवक्ता फेब्रीले आफूमाथि लगाइएको भ्रष्टाचारको सम्पूर्ण आरोप अस्वीकार गर्दै आफ्नो हिरासतलाई राजनीतिक एवं अन्य स्वार्थप्रेरित ‘अपराधीकरण’ को संज्ञा दिएका छन्। प्रहरीले सुत्रिमोको रहस्यमय मृत्यु र यो हाई-प्रोफाइल भ्रष्टाचार मुद्दाबिच कुनै सिधा सम्बन्ध वा षड्यन्त्र छ या छैन भन्ने बारेमा अहिलेसम्म कुनै औपचारिक निष्कर्ष सार्वजनिक गरेको छैन। एजेन्सी

प्रतिक्रिया