सामुदायिक वनले निकालेको टेन्डरमा च्याखे थाप्ने युवाको समूहले लगातार सांघातिक हमला गर्न थालेपछि गुलरिया बजार क्षेत्र त्रसित बनेको छ। सामुदायिक वनको टेन्डर सम्झौतामा बोलकबोल गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सक्रिय युवाहरूले पछिल्लो समय सांघातिक आक्रमण गर्न थालेको आरोप लागेको छ।
डिभिजन वन कार्यालयका इन्जिनियर शुभ यादवलाई कार्यालय अगाडि सोमबार राति धारिलो हतियार प्रयोग गरी युवाको समूहले टाउकोमा सांघातिक आक्रमण गरेको छ। घटनापछि कार्यालयका कर्मचारीहरूले इन्जिनियर यादवलाई तत्काल बर्दिया अस्पताल पुर्याएका थिए। टाउकोमा सात वटा टाँका लगाएपछि घाइते यादव कार्यालय फर्किएका छन्।
राति कार्यालय बाहिर युवाहरूको भीड देखिएपछि आफू त्यहाँ पुग्दा दुई जनाले नियन्त्रणमा लिएर आक्रमण गरेको पीडित यादवले बताएका छन्। उनका अनुसार सामुदायिक वनको टेन्डर खुलेसँगै काठ व्यवसायी संघमा आबद्ध हुन आएका केही युवाको समूहले सेवाग्राहीलाई रोक्ने काम गर्दै आएको थियो।
‘काठ व्यवसायी संघमा बसेर प्रतिस्पर्धामा टेन्डर हाल्न अवरोध गरिरहेका थिए। अन्ततः उनीहरूले ममाथि नै आक्रमण गरे,’ यादवले भने।
काठ व्यवसायी संघको कार्यालयमा प्रतिस्पर्धात्मक टेन्डर प्रक्रिया अघि बढ्न नदिने उद्देश्यले विवाद सिर्जना भएपछि युवाहरूले सोमबार राति तरबार निकालेर काठ व्यवसायीमाथि समेत सांघातिक हमला गरेको आरोप छ।
घाइते पक्षले हालेको टेन्डरमा अन्य पक्षले टेन्डर हालेपछि विवाद सिर्जना भएको खुलेको छ। यसअघि आपसी सहमतिमा टेन्डर प्रक्रिया अघि बढाउने प्रयास भए पनि सहमति नभएपछि विवाद बढेको बताइएको छ।
उक्त समूहले तरबार निकालेर धारिलो हतियार प्रहार गर्दा ४२ वर्षीय निरकान्त यादव, ३६ वर्षीय बिज्रेश यादव, ३४ वर्षीय रितेश यादव र २१ वर्षीय ओमबाबु यादव गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट निरकान्तको दुवै हातमा गहिरो चोट लागेको छ। बिज्रेशको टाउकोमा गम्भीर चोट लागेको छ भने रितेशको हात र टाउकोमा चोट लागेको छ। ओमबाबुलाई पनि हात र टाउकोमा गम्भीर चोट लागेको छ।
घाइतेमध्ये तीन जना बाबु–छोरा रहेको जनाइएको छ। गुलरियामा दिनदहाडै धारिलो हतियारसहित भएको आक्रमणपछि स्थानीय त्रसित बनेका छन्।
घटना लगत्तै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। काठ व्यवसायी संघका अध्यक्ष कुबेर केसी र घटनामा संलग्न रहेको आरोपमा गणेश बुढा थोकिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। ‘घटनापछि युवाहरू फरार भएको बुझिएको छ। घटनास्थलबाट प्रमाणसमेत संकलन गरिएको छ,’ उनले भने।
उनका अनुसार प्रहरीले घटनाको प्रकृति बुझेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।

प्रतिक्रिया