निर्देशक नितेश तिवारीको बहुप्रतिक्षित पौराणिक फिल्म ‘रामायण’ को ट्रेलर सार्वजनिक भएको छ। यो ट्रेलरले भगवान् राम (रणवीर कपूर) र राक्षस राजा रावण (यश) बिचको धार्मिक तथा महाकाव्य लडाइँको भव्य संसार प्रस्तुत गरेको छ।
चार हजार करोड रुपैयाँभन्दा बढीको विशाल बजेटमा निर्माण भइरहेको यो फिल्मको ट्रेलरले दर्शकमाझ ठुलो कौतूहल सिर्जना गरेको छ।
फिल्ममा रणवीर भगवान् रामको रूपमा शान्त र गम्भीर देखिएका छन् भने यश रावणको रूपमा निकै शक्तिशाली र राजसी अन्दाजमा प्रस्तुत भएका छन्। यस्तै, साई पल्लवी माता सीताको भूमिकामा निर्मल र स्वर्गीय देखिएकी छिन्। ट्रेलरमा लारा दत्ता (कैकेयी), रकुल प्रीत सिंह (शूर्पणखा) र अरुण गोविल (राजा दशरथ) लगायतका कलाकारहरूको समेत झलक देखाइएको छ।
यस फिल्ममा विश्व चर्चित संगीतकारद्वय ए.आर. रहमान र ओस्कर-विजेता हान्स जिमरले पहिलो पटक सहकार्य गरेका छन्। निर्माता नमित मल्होत्राले यो फिल्म भारतीय सिनेमाकै अहिलेसम्मकै सबैभन्दा ठुलो र भव्य महाकाव्य हुने दाबी गरेका छन्।
उनी भन्छन्, ‘जब हामी छ वा सात वर्षअघि यो बनाउन निस्कियौं, मानिसहरूले मलाई पागल ठानेका थिए किनभने कुनै पनि भारतीय फिल्म यो स्तरको नजिक आउँदैन। सरल भाषामा भन्नुपर्दा, दुवै भागको बजेट लगभग ५० करोड ५० लाख डलर हुनेछ, जुन चार हजार करोड रुपैयाँभन्दा बढी हो।’
त्यस्तै, संगीतकार ए.आर. रहमानले यस सहकार्यको बारेमा बताउँदै भनेका छन्, ‘यो हामी दुवैको लागि डरलाग्दो छ। हामी संसारको लागि यति प्रतिष्ठित र महत्त्वपूर्ण कुरा बनाउँदैछौं।’
ट्रेलरमा फिल्मका लगभग सबै मुख्य पात्रहरूको परिचय दिए पनि हनुमानको भूमिकामा रहेका अभिनेता सन्नी देओलको भने कुनै पनि दृश्य समेटिएको छैन। ट्रेलर बाहिरिए लगत्तै सामाजिक सञ्जालमा दर्शकहरूले ‘हनुमान कहाँ छन्?’ भन्दै प्रश्न गर्न थालेका छन्।
एक दर्शकले प्रतिक्रिया दिँदै भने, ‘दृश्यहरू राम्रा छन्, तर मलाई विश्वास लाग्दैन कि उनीहरूले एक पटक पनि हनुमानजी देखाएका छैनन्?’ निर्माताहरूले दर्शकका लागि आश्चर्य (सरप्राइज) जोगाउन जानाजानी सन्नी देओलको उपस्थिति गोप्य राखेको हुन सक्ने अनुमान गरिएको छ।
यो फिल्म दुई भागमा हलमा आउनेछ। फिल्मको पहिलो भाग अक्टोबर २०२६ मा दशै-तिहारको अवसर पारेर विश्वव्यापी रूपमा रिलिज हुनेछ भने दोस्रो भाग २०२७ को दशै-तिहारमा प्रदर्शन हुनेछ।
भिडियो हेर्नुस्

प्रतिक्रिया