जेनजी अभियन्ता तनुजा पाण्डेले हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गएको र दर्जानौँ घाइते भएको घटनाको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री सुधन गुरुङतर्फ प्रश्न तेर्स्याएकी हुन्। उनले भदौ २३ मा संसद् भवन अगाडि अकारण गोली चलाउने घटना होस् या हिजो राति सुनसरीमा नागरिकको ज्यान लिने काम, यी दुवै घटना राज्यसत्ताको एउटै दमनकारी मानसिकताका उपज भएको बताइन्।
उनले भनिन्, ‘गृहमन्त्री सुधन गुरुङज्यू, हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गयो र दर्जानौँ घाइते भए, यसको नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिने?’
गृहमन्त्री गुरुङको कमाण्डमा रहेको गृह प्रशासनबाट यस्तो कार्य हुनुले गृहमन्त्री पूर्ण रूपमा असफल भएको प्रस्ट पारेको भनाइ राखिन्। ‘नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व बोकेको गृह प्रशासनको नेतृत्वमा तपाईं हुनुहुन्छ, तर स्थिति नियन्त्रणमा लिन अन्य उपायहरू हुँदाहुँदै सीधै गोली ठोक्ने अवस्था आउनुले तपाईंको गृह प्रशासन र कमाण्ड एण्ड कन्ट्रोल पूर्ण रूपमा असफल भएको प्रस्ट पार्छ,’ उनले भनेकी छन्।
पाण्डेलेथप्छिन्, ‘नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुको साटो आफ्नै सरकारसँग डराउनुपर्ने यो कुन प्रकारको शासन हो? भदौ २३ को गम्भीर गल्तीबाट पाठ सिक्नुको साटो उस्तै शैलीमा मध्यराति नागरिकमाथि गोली चलाउनुले गृह प्रशासनको पूर्वतयारी र सुरक्षा रणनीतिमा ठूलो खोट रहेको देखाउँछ। कस्तो परिस्थिति निर्माण भएको थियो र कसको आदेशमा सीधै घातक बल प्रयोग गरियो, यसको तथ्यपरक र स्पष्ट जवाफ गृह मन्त्रालयले अविलम्ब दिनुपर्छ।’
सुरक्षा निकायलाई न्यूनतम बल प्रयोगको सिद्धान्तमा अभ्यस्त गराउनुको सट्टा सीधै नागरिकमाथि गोली बर्साउने अवस्था आउनु गृह मन्त्रालयको गम्भीर नेतृत्वगत असफलता भएको उनले बताइन्। उनका अनुसार सुरक्षा निकायलाई न्यूनतम बल प्रयोगको सिद्धान्तमा अभ्यस्त गराउनुको सट्टा सीधै नागरिकमाथि गोली बर्साउने अवस्था आउनु गृह मन्त्रालयको गम्भीर नेतृत्वगत असफलता हो।
भदौ २३ देखि सुनसरी काण्डसम्म आइपुग्दा राज्यसत्ताले नागरिकको ज्यानलाई यति सस्तो सम्झिनु र आफ्ना सुरक्षा बललाई संयमित बनाउन नसक्नुले गृह प्रशासनको नियतमाथि नै प्रश्न उठाएको उनले बताइएन्। ‘गृहमन्त्रीज्यू, आफ्नै प्रशासनको यो असफलता र दमनकारी सोचको सोझो जवाफ दिनुहोस्, सुरक्षा निकायलाई संयमित बनाउन छाडेर राज्यले यसरी नै नागरिकमाथि गोली बर्साइरहने हो?’ उनले प्रश्न गरिन्।

प्रतिक्रिया