सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । मुख्यमन्त्री नेकपाको भागमा परेपछि अन्य मन्त्रालय बाँडफाँटका बारेमा दुई दलबिच छलफल भइरहेको नेताहरूले बताएका छन्।
नेकपाका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने प्रबल सम्भावना रहेको छ । भट्ट पनि शीर्ष नेतासँग छलफल गर्न काठमाडौं गएका छन् । पार्टीका संयोजक पुष्पकमल दाहालसहितका नेताहरूसँग परामर्श गर्न शनिबार नै भट्ट संघीय राजधानी काठमाडौं गएका हुन्।
मुख्यमन्त्री शाहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने नेकपा संसदीय दलका नेता भट्टले बताए । अहिले नेकपा र एमालेबिच सरकार गठन र मन्त्रालय बाँडफाँटका विषयमा छलफल भइरहेको उनले बताए । नेकपा संसदीय दलको बैठकले गत असार ३१ गते नै शाहलाई मार्गप्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरिसकेको छ ।
नेकपा र एमालेले नयाँ सरकार गठनका लागि शाहले तत्काल राजीनामा गएर सहयोग गर्न आग्रह गरेका छन् । असार १ गते मध्यराति आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सत्ता गठबन्धन दलिबिचको विवादले पारित हुन नसकेकाले बजेट शून्यताको अवस्था रहेको छ । नेकपा र एमालेले सहकार्य गरेकाले मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्।
५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११, राप्रपाका एकजना प्रदेशसभा सदस्य छन् । उनीहरूमध्ये पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा देशबाहिर छन् । डडेल्धुराबाट स्वतन्त्रबाट निर्वाचित डा. तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त रहेको छ।
प्रदेश सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । नेकपा र एमालेसँग ३२ जना (निलम्बितबाहेक) सांसद रहेकाले सुविधाजनक बहुमत रहेको छ।

प्रतिक्रिया