अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडाध्यक्ष विजय कुमार यादवविरुद्ध सरकारी एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार भारत सरकारको सहयोगमा निःशुल्क प्राप्त एम्बुलेन्स वडावासीलाई सेवा दिन उपलब्ध गराइए पनि त्यसलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दाखिला नगरिएको र आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरिएको पाइएको छ।
अनुसन्धानका क्रममा एम्बुलेन्स सञ्चालनसम्बन्धी यात्राको विवरण, इन्धन खर्च, सेवा अभिलेख तथा आम्दानी–खर्चको हिसाबकिताब नराखिएको तथा सेवा सञ्चालनबाट उठेको रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ। आयोगका अनुसार एम्बुलेन्सलाई सरकारी सम्पत्तिका रूपमा नभई निजी सवारीसरह प्रयोग गरिएको देखिएको छ।
नेपाल रेडक्रस सोसाइटी, धनुषाले निर्धारण गरेको एम्बुलेन्स सेवा शुल्कका आधारमा एम्बुलेन्स सञ्चालनबाट रु. १५ लाख ९ हजार २५० बराबरको सार्वजनिक सम्पत्तिमा हिनामिना तथा हानि–नोक्सानी भएको आयोगको दाबी छ। सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
आयोगका अनुसार अनुसन्धानकै क्रममा यादवले रु. ३ लाख ८१ हजार ५९७ दाखिला गरेका छन्। उक्त रकम कटाएर बाँकी रु. ११ लाख २७ हजार ६५३ असुलउपर गर्नसमेत माग गरिएको छ।

प्रतिक्रिया