विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई व्यावसायिक ड्राइभिङ क्षेत्रमा समान अवसर दिलाउने उद्देश्यसहित सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा सहभागी महिलालाई सुरक्षित र आत्मनिर्भर रूपमा दुईपाङ्ग्रे सवारीमार्फत व्यावसायिक सेवा दिन आवश्यक सीप, आत्मविश्वास तथा आवश्यक स्रोतसाधन उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
अप्रिल २०२६ मा सुरु गरिएको यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरसँग जोड्ने लक्ष्यका साथ सञ्चालन गरिएको हो। साथै, परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको ड्राइभिङ पेसामा महिलाको प्रवेशमा रहेका सामाजिक तथा व्यवहारिक अवरोध हटाउने उद्देश्य पनि यसमा रहेको बताइएको छ।
सडक सुरक्षा र आत्मरक्षामा विशेष जोड
प्रशिक्षण अवधिभर सहभागीलाई व्यावहारिक राइडिङसँगै सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिइएको थियो। औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा पनि उनीहरूलाई सहजीकरण गरिएको कम्पनीले जनाएको छ।
प्रत्येक सहभागीलाई सुरक्षात्मक हेल्मेट, प्राथमिक उपचार तथा स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट पनि उपलब्ध गराइएको थियो।
त्यस्तै, फाइटब्याक नेपालसँगको सहकार्यमा आत्मरक्षा तालिम सञ्चालन गरी सम्भावित सुरक्षा चुनौती सामना गर्न सक्ने व्यवहारिक सीपसमेत विकास गरिएको थियो।
ट्राफिक प्रहरीको आग्रह
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न र निरन्तर सिक्दै अनुभव बढाउन सहभागी महिलालाई आग्रह गरे। उनले सबै प्रशिक्षार्थीलाई सुरक्षित र सफल व्यावसायिक यात्राको शुभकामना पनि दिए।
प्रमाणपत्रसँगै स्कुटर, स्मार्टफोन र स्मार्टवाच
प्रमाणपत्र वितरण समारोहमा इनड्राइभका प्रतिनिधि, सरकारी निकायका सरोकारवाला, सञ्चारकर्मी तथा विशिष्ट अतिथिको सहभागिता थियो।
कार्यक्रममा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले १० जना सहभागीलाई प्रमाणपत्र, सुरक्षा किट तथा मायाको चिनो हस्तान्तरण गरिन्। कार्यक्रममा सहभागी महिलाहरूको प्रशिक्षण यात्रालाई समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो।
समारोहका क्रममा एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो। कम्पनीका अनुसार यी सामग्रीले उनीहरूको व्यावसायिक ड्राइभिङ यात्राको सुरुवातमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

‘महिलालाई अवसरको ढोका खोल्नु मुख्य उद्देश्य’
इनड्राइभ साउथ एसियाकी कम्युनिकेसन म्यानेजर शेरिन एर्विना कौरले राइड माग्ने यात्रुमध्ये महिलाको संख्या उल्लेख्य भए पनि महिला चालकको संख्या निकै कम रहेको बताइन्। उनका अनुसार समस्या महिलाले ड्राइभिङ गर्न चाहँदैनन् भन्ने नभई उनीहरूका लागि यो पेसामा प्रवेश गर्ने अवसर सीमित हुनु हो।
उनले नेपालमा सञ्चालन गरिएको पहिलो समूहले तालिम, लाइसेन्स र प्लेटफर्ममा पहुँचलाई एउटै यात्रामा जोड्दा सकारात्मक परिवर्तन सम्भव हुने देखाएको भन्दै आगामी दिनमा अन्य बजारमा पनि यस अनुभवलाई विस्तार गर्ने योजना रहेको जानकारी दिइन्।
इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले सीप विकास मात्र पर्याप्त नभई सामाजिक सोच परिवर्तन पनि आवश्यक रहेको बताइन्। उनका अनुसार कार्यक्रमले महिलालाई लाइसेन्स प्राप्त गर्नेदेखि आत्मविश्वास विकास गर्ने, परिवारसँग संवाद बढाउने र आम्दानीको अवसर सिर्जना गर्नेसम्म सहयोग गर्ने गरी डिजाइन गरिएको छ।
त्यस्तै, इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले महिलामैत्री वातावरण निर्माणतर्फ यो कार्यक्रम महत्वपूर्ण कदम भएको बताउँदै धेरै महिलाले स्टेयरिङ समात्दा नेपाललाई थप समावेशी समाजतर्फ अघि बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरिन्।
ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ले समानता र सामाजिक न्यायलाई प्रवर्द्धन गर्ने इनड्राइभको प्रतिबद्धतालाई व्यवहारमा उतारेको उल्लेख गर्दै यस्तो पहलको हिस्सा बन्न पाउँदा आफू गर्व महसुस गरेको बताइन्।

प्रतिक्रिया