मध्य मनुसनको यो सिजनमा धेरैतिर हिलोमैलोको प्रभाव छ। बाढि, पहिरो र डुबानको त्रास पनि उत्तिकै छ। तर, यही मौसममा यतिबेला अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्र ढकमक्क ढाकिएको छ। विभिन्न रंगीन फूलले आधारशिविर क्षेत्रलाई चिटिक्क पारेको सजाएको छ। हरियाली र रंगीन मैदान, सेतो हिमाल र निलो आकाश देखिँदा आधारशिविर क्षेत्र लोभलाग्दो बनेको छ।

यतिबेला वर्षायामको सिजन भएपनि आधारशिविर क्षेत्रसम्म केही पाहुना उक्लेका छन्। वर्षायाममा बेलाबेला खुलेको हिमालले एबिसीको दृष्य झनै लोभलाग्दो देखाउने गरेको छ। बादल लाग्यो भने बादलभित्रै लुक्ने यो क्षेत्र वर्षायामको यो समयमा भने बेलाबेला खुल्ने गरेको छ। हिउँदमा हिउँ परेर र वर्षामा हरियाली हुँदा बाह्रैमास त्यहाँको मौसम र प्राकृतिक दृष्यले ४१ सय ३० मिटर उचाइँको आधारशिविर मनमोहक बन्छ।

होटल व्यावसायी जगनराज गुरुङसँग अन्नपूर्ण आधारशिविर (एबिसी) मा पर्यटन व्यावसाय संचालनको लामो अनुभव छ। आधारशिविर क्षेत्रमै उनले साढे तीनदशक अवधि बिताए। आधारशिविरका हिउँद र वर्षायामका दृष्यसँग खेलेको साढे तीनदशक अनुभव गुरुङसँग छ। ‘यो बेला वर्षायामको मौसम हो। त, यहाँको मैदान हरियालीले ढपक्क ढाकेको छ। वर्षायाममा हरियाली फूलले यहाँ पाहुनालाई पनि आकर्षित गरेको छ। हिउँदताका हिउँले सेताम्य हुने यो क्षेत्र अहिले भने हरियाली र रंगीविरंगी फूलले सजिएको छ,’ उनले भने।

उनका अनुसार वर्षायामको यो सिजनमा पनि आधारशिविरसम्म अलिअलि भारतीय पाहुना उक्लेका छन्। केही चिनियाँ पाहुना पनि छन्। ‘वर्षायाम भएपनि व्यावसायमा ढोका नै लगाएर बस्नु परेको छैन। दिनमा १५ जनाको हाराहारीमा पाहुनाहरु माथि उक्लिने गरेका छन,’ आधारशिविरबाटै उनले भने, ‘खासमा यो बेला पाहुना आउने सिजन त होईन। तर, पछिल्ला वर्षा हिउँद वर्षा कहिल्यै रित्तो भएर बस्नुपरेको छैन।’
हरियो मैदान, सेतो हिमाल, निलो आकाशले आधारशिविर क्षेत्रलाई गज्जब रमाइलो देखाएको उनले बताए। ‘मौसम नखुलेमा बादलभित्र लुकेको अनुभव हुन्छ,’ उनले भने, ‘त्यो बेला त मनै अत्तालिन्छ। कताकता हराएको अनुभव हुन्छ।’ अहिले हरियालीले उक्त क्षेत्र ढाकेको छ। खोलानाला, झरनाको आवाज, पदमार्गमा फुलेका रंगीचंगी पूmल, ठाउँठाउँमा भेटिने भेँडाको बथानले उक्त क्षेत्रमा जाँदा पर्यटकले रोमाञ्चक मान्छन।

‘म आधारशिविरमा बसेको साढे तीनदशक भयो। तर, म कहिल्यै अघाउँदिन। किनकी त्यहाँको दृष्य नै त्यस्तै छ, जसले मलाई सकेसम्म बाह्रैमास आधारशिविर तान्छ,’ छोमरोङ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका उनले भने, ‘आइतबार निकै नै खुलेको मौसम सोमबार भने केही बादलियो। अनि आइतबारको दृष्य कता लुक्यो लुक्यो जस्तो बनेको छ।’
यो बेला हरियालीसँगै फूलेका रंगीचंगी फूलले त्यहाँको सुन्दरता थपेको उनले बताए। ‘मलाई त त्यहाँको दृष्यले लोभ्याउँछ भने विदेशी पाहुनालाई पनि तान्ने नै भयो। साह्रै रोमाञ्चक दृष्य देख्न पाइन्छ,’ उनले भने, ‘वर्षायाम भनेर हिडडुल गर्न केही हच्के पनि यात्रा सकसपूर्ण छैन। आउजाउ सहज छ। त्यसैले पनि पाहुना आएका छन्।’

एबिसी पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी)मा व्यावसाय संचालन गरिरहेका दिलीप गुरुङ पनि यतिबेलाको दृष्य साह्रै नै लोभलाग्दो रहेको बताउँछन। ‘असोज मध्यसम्म साह्रै नै रमाइलो हुन्छ। हिउँदमा हिउँ परेपछिको दृष्य र वर्षायाममा फूलेको फूल र हरियालीले आधारशिविर ढाक्छ। यसले पाहुना लोभ्याउन सकेको छ,’ उनले भने, ‘हिउँदताका हिउँले धेरैदिनसम्म भूई पनि देख्न पाइदैन। तर, अहिले त पुरै हरियाली र रंगीविरंगी फूलले आधारशिविर क्षेत्र सजिएको छ।’

वर्षायामाको यस्तै दृष्यसँग रमाउनका लागि स्वदेशी र विदेशी पाहुना आधारशिविर उक्लिन्छन। उनीहरुका अनुसार अहिले पनि दिनमा १५ जनाको हाराहारीमा पाहुनाहरु आधारशिविर उक्लिरहेका छन। दिनहुँ पाहुना आउन थालेपछि सबैको व्यवासाय खुला रहेको उनले बताए। आकर्षक र लोभलाग्दो दृष्यले पनि पाहुना तानिरहेको उनले बताए।
अन्नपूर्ण आधारशिविरमा ६ वटा होटल छन, जहाँ सिजनको बेला ५ सयको हाराहारीमा पाहुनाको बसोबास व्यवस्थापन हुन्छ। माछापुच्छ्रे आधारशिविरका पाँचवटा होटलमा पनि पाहुनाको भीडभाड रहन्छ। हिउँदताका हिउँले ढाक्दा सेताम्य र अहिले हरियाली देखिँदा आधारशिविर क्षेत्र बाह््रैमास सुन्दर देखिने उनले सुनाए। ‘सिजन अनुसारको सुन्दरता पस्केको छ। आधारशिविर आफैमा मनमोहक ठाउँ हो। त्यसैमाथि यति सुन्दर दृष्य हेर्न पाउँदा जो कोही खुसी हुन्छन,’ उनले भने।

प्रतिक्रिया