काठमाडौं। नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पु-याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् ।

काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहर लगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन लगयताका व्यापारिक कक्ष हुनेछन्।

यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले बताए ।

उनले भने,”नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्‍याउने उद्देश्य हाम्रो हो ।” प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारत लगायत अन्य देशबाट आउने अपेक्षा गरिएको छ । एक्सपोमा सय भन्दा बढी स्टलहरु रहनेछन् ।