सरकारले सबै किसिमका सरकारी सेवाहरु अनलाइनबाटै दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो । परीक्षणको चरणमा रहेको उक्त एपमा हाल ९ ओटो सरकारी सेवाहरु राखिएको छ । 

नागरिक एपमा अकाउन्ट बनाउन आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । आफ्नो नाम दर्ता भएको मोबाइल नम्बरबाट मात्रै नागरिक एपमा अकाउन्ट बनाउन सकिने छ । 

अकाउन्ट बनाउँदा राखेको मोबाइल नम्बरमा एक पटक मात्रै प्रयोग गर्न सकिने वन टाइम पासवर्ड (ओटीपी) कोड आउँछ । उक्त ओटीपी कोड राखेपछि आफ्नो नागरिकता, पासपोर्ट वा मतदाता परिचयपत्रको विवरण राखेर एपभित्र प्रवेश गरी सेवा प्रयोग गर्न सकिन्छ ।

एपमा सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेसन पनि राखिएको छ । सरकारसँग भएका नागरिकका सबै विवरणहरु सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको डेटा सेन्टरमा सुरक्षित राखिएका छन् । 

राष्ट्रिय परिचयपत्र तयार भएपछि एपमा बायोमेट्रीक सुरक्षा प्रणाली समेत थपिने छ । सरकारी निकायमा रहेका नागरिकका विवरणहरु एपमा भने रहने छैनन् ।

विभिन्न सरकारी निकायमा रहेका विभिन्न विवरणहरुलाई एपले एक आपसमा जोडेर सेवा लिन सहज बनाउँछ ।  कुनै सरकारी सेवा लिन आवश्यक विवरण सम्बन्धित निकायको प्रणालीमा यसले तत्काले रूजु गर्छ । 

कसरी सुरक्षित रहने ? 

एपमा जतिसुकै सुरक्षाको व्यवस्था भएपनि आफुसँग भएको पीन कोड र व्यक्तिगत जानकारी आफैले सुरक्षित राख्नुपर्ने हुन्छ । सकेसम्म नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र जस्ता व्यक्तिगत विवरणहरु अरुलाई नदिनुहोस् । 

सुरक्षित रहन आफुले प्रयोग गर्ने मोबाइल नम्बर अरुको नाममा छ भने आफ्नो नाममा नामसारी गर्नुहोस् । आफ्नो सीममा आएको ओटीपी कोड अरू कसैलाई पनि नदिनुहोस् । 

यदि तपाईको नाममा रहेको सीम अरू कसैले प्रयोग गरिरहेको छ भने उक्त सीम नामसारी गरिदिनुहोस् वा बन्द गर्नुहोस् ।  

एन्ड्रोइड फोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइफोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।