पुष ९, सिन्धुली – विपि राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन । मोटरसाइकल पछाडि बसेकी खोटाङ दिक्तेल नगरपालिका १० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको हो । बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रनाउ चिरन्जीवी दाहालले जानकारी दिए ।

बा ६० प ३५४५ नम्बरका मोटरसाइकल चालकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।