काठमाण्डौ, कानूनी र प्राविधिक टेकोले मात्र प्रचण्डको सत्ता अडिएको छ । राजनीतिक, सामाजिक, नैतिक, व्यवहारिक तथा तार्किक औचित्यका आधारमा प्रचण्डको सरकार पुरै नाङ्गो भइसक्यो । यसर्थ सरकार कहिले ढल्ने भन्ने दिनगन्ती सुरु भइसकेको छ ।


सत्ता कसरी उत्तानो पर्ने ?
पूरा एक वर्ष भयो । प्रचण्ड नेतृत्वको महागठबन्धनले जनहितकारी काम फुटीकौँडी पनि  गर्न सकेन । अर्थहीन र औचित्यहीन सत्ता गठबन्धनका कारण राज्य र जनताका आवश्यकता एकातिर सरकारको ध्यान जसरी पनि सत्ता जोगाउनेतिर देखियो । भ्रष्टाचारका लागि साझेदारी गर्न एकगठ भएका दलबाट देश र जनताका लागि कुनै काम हुँदैन भन्ने फेरि प्रष्ट भयो । यसको प्रमाण हेर्ने हो भने यसबिचमा विकास निर्माणका कुनै पनि नयाँ आयोजना, कार्यव्रmम र थालनी हुनै सकेनन् ।

बरु तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुरु गरेका आयोजनाको निर्माण तथा निर्माण सम्पन्न भएका आयोजनाहरुको भुक्तानी दिने काम पनि गरेन । केवल सस्ता र पुराना कामै नलाग्ने गफ र फन्डा, हल्ला एवम् हुइयामा नै प्रचण्डको सत्ताको एक वर्षे अवधि पूरा आठ दिन  बाँकी छ । खाली कानूनी र प्राविधिक बहुमत मात्र पु¥याएर गठन भएको प्रचण्डको सत्ता ताइ न तुइ, हातमा लाग्यो दुई भने जस्तो भयो । बेलुनबाट हावा फुस्स गएजस्तो हुँदैछ प्रचण्डको सत्ता गठबन्धन ।

कुनै पनि राजनीतिक, दार्शनिक, कार्यक्रमिक, उद्देश्यगत, विचार, दृष्टि र योजनाको निर्माण तथा मुलुक निर्माणको लक्ष्य नभएको गठबन्धन सत्ताबाट मुलुकको ढुकुटी सक्नेमा मात्र सीमित रह्यो । सुशासनको गफ दिएर सत्ताधारी प्रमुख नेताहरु आफैँ ब्रम्हलुट गर्ने लोभीपापी शैलीले गठबन्धनभित्रै गम्भीर खटपट पैदा गरेको छ । प्रचण्डले बालकृष्ण खाण र आरजुको कार्ड फ्याँकेर देउवालाई तर्साएका छन् । सोही कारण देउवा चुप देखिन्छन् ।


कान्डैकान्डमा जेलियो
सुन कान्डदेखि एनसेल कान्डमा प्रचण्डका नातेदार, आफन्त र पार्टीका ठूला नेता मुछिएपछि प्रचन्ड सत्ताको गंभीर संकटमा परेको छ । पहिले हुइया र हल्ला पिटाएर बालुवाटारको जग्गामा केही हात नलाग्ने पिपिरी बजाएर चर्चामा आएका गृहमन्त्री अहिले एक्कासी सेलाएका छन् । केकेन गर्छु भन्ने गृहमन्त्री पन्चर भएको मोटर जस्तो थचक्कै बसेको महसुस हुन्छ । उनलाई स्वास्थ्यले पनि साथ दिएको छैन । 


 प्रचण्डको सरकार र सत्ता आफै उत्तानो पर्ने अवस्था पुगिसकेको बेला मर्ने बेलामा हरियो काँक्रो भनेजस्तो प्रचण्ड फेरि विकास र स्थिरताको कुरा गर्दैछन् । प्रचण्डको सरकार जति दिन बस्यो उती देशलाई घाँडो हुने अवस्था सरकारी कर्मचारीलाई तलब भत्ता ख्वाउनै नसक्ने अवस्थाले पुष्टि गर्छ । सत्ता र सरकार टिक्न नसक्ने प्रष्ट भएपछि प्रचण्ड आफूलाई काम गर्नै दिएनन्, केही पनि गर्न सकिएन जस्ता गोहीको आँसु चुहाउने खालका बोली बोल्दैछन् ।


कसले मुख बायो ?
प्रचण्डको सरकार र गठबन्धनको औचित्य समाप्त भइसकेको बेला गठबन्धनको सम्झौता अनुसार देउवा र माधव नेपालले पनि प्रधानमन्त्री सपना देख्दैछन् । तुलनात्मक रूपमा माधव नेपाल केही ठीक र सही पात्र भए पनि जनताको मत र विश्वासबाट पुरै बढारिएर तीन प्रतिशत पनि भोट नल्याएका कारण उनी प्रधानमन्त्री बन्ने कुरा हुटिट्याँउले आकाश थाम्ने जस्तो हुने अवस्था छ । संख्यात्मक हिसाबमा संसदको ठूलो दल भए पनि काँग्रेसको साख, जनमत र राजनीतिक आधार ध्वस्त भएको अवस्था छ । त्यसमा पनि देउवा राजनीतिक, सामाजिक बजारमा पनि बिक्दैनन् ।

यसर्थ प्रचण्डपछि कसको नेतृत्वमा सरकार बन्ने भन्ने हिसाब किताब मिल्ननै हम्मेहम्मे पर्ने अवस्था छ । अर्काेतर्फ भ्यागुताको धार्नी पुर्‍याएको जस्तो अन्य साना समूहले पनि सत्तामा जान खुट्टा उचालेकाले गठबन्धनमा संकट पर्ने देखिन्छ । आफूलाई चौबिस क्यारेटको सुन भन्दै ठूला गुड्डी हाँक्ने रवि लामिछानेले सरकारमा जान मरिहत्ते गर्दैछन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री क्रिकेटर इमरान खानले जस्तो अरुलाई चोर र भ्रष्टाचारी भन्दै आफूलाई पानीमाथिको चोखो देखाउने लामिछाने र यस्तै भुँइफुट्टाहरूले राजनीतिलाई धमिलो पार्दैछन् । उता एमालेका अध्यक्ष सहितको टोलीले गर्दैआएको देशव्यापी भ्रमण, अन्तक्रिया र नागरिक सम्बन्ध कार्यक्रमले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउँदैछ ।


एमालेको दृष्टि
जसरी पनि वा जुनसुकै खालको गठबन्धन निर्माण गरेर सत्तामा पुग्ने अनि अपजसको भारी बोक्ने काम एमालेले अब चाहिँ गर्नै हुन्न । एमालेको मूल दृष्टि भनेको जनतालाई सूचित, संगठित, प्रशिक्षित र आशावादी बनाउने हो । स्थानीय स्रोत, श्रम र साम्रगीको प्रयोग गर्दै नागरिकलाई स्वावलम्बी बनाउन सहयोग गर्ने हो । राजनीतिक, सामाजिक, साँस्कृतिक र कानूनी शिक्षा दिएर व्यापक आन्दोलन, अभियान र संगठनको मालामा उन्ने हो । जनता जगाउने हो । आशा र अपेक्षा वृद्धि गर्ने हो । केवल सत्ता र सरकार मात्र सोच्ने होइन । प्रतिगामी र हुर्दुङ्गा भ्रम चिर्ने हो ।

एमाले आफै आन्दोलन र परिवर्तनको अर्काे नाम भएकोले जनताको परिवर्तन र आन्दोलनको नेतृत्व गर्ने हो । मुलुकका सबै वडादेखि पालिका र नगरमा एमाले विस्तार गर्ने हो । अर्थात् जनतालाई राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक दृष्टिकोणले बढी आशावादी बनाउने कार्यमा एमाले लाग्न सक्नु पर्दछ । जस्तोसुकै अराजनीतिक, दृष्टिविहीन र उक्ष्यहीन सरकार र सत्ताको पक्षमा एमाले हुनुहुन्न । कार्यकारी सरकारमा एमाले नभए पनि राज्य सत्ताका अनेकौँ क्षेत्र, विषय, संगठन र पक्षमा एमालेको सत्ता रहेको प्रष्टै छ ।


सिंहदरबारमा फोटो
प्रचण्डले फेरि सिंहदरबारमा एउटा नयाँ फोटो झुन्ड्याउने बाहेक जनहितमा केही पनि गरेनन् । प्रचण्डको सत्ताबाट आर्थिक रुपमा सामान्य सुधार र परिवर्तन पनि हुन सकेन । महंगी, बेरोजगारी, नागरिकका सेवामा रहेका पुराना गुनासामा झनझन दुःख झेल्दै आएको अनुभूति हुँदैछ । एउटा सवारीको लाइसेन्स प्राप्त गर्न वर्ष दिन कुर्नुपर्ने अवस्था ज्युँदैछ । पासपोर्टको वितरणको कष्ट र दुःख उस्तै छन् । मालपोतको पीडा भनिसाध्य छैन । कर राजश्व बुझाउन पनि नागरिकले कष्ट खेपेकै छन् । अन्तर्राष्ट्रिय एअरपोर्टका व्यथा भनिसाध्य छैनन् । टनका टन सुन छिर्ने, छिराइने एअरपोर्टमा विदेशबाट एउटा फोन, कपडा, सिक्री ल्याउँदा भन्सारले र्‍याख्र्‍याखती पारेका घटना सार्वजनिक भएका छन् ।


 ठूलो जनमत एमालेतिर र संख्यात्मक हिसाबले ठूलो दल काँग्रेस भए पनि सत्ताको मुसा खेलमा लिप्त भएका ३२ सिटे प्रचण्डले सबैलाई धोका दिँदा अहिले आफैँ चिल्लिने अवस्थामा पुगेको छ । प्रचण्डलाई अब एमालेले विश्वास गर्न नसक्ने स्थिति भएकोले उनको सत्ता पुरै धरापमा पर्दै गएको छ । राजनीतिक दल, जनता र सर्वत्र आलोच्य भएका प्रचण्ड आफ्नै सल्लाकार रहेका हरिबोल गजुरेल जस्ता वरिष्ठ नेता राजीनामा दिएर हिंडेका छन् । प्रधानमन्त्री प्रचण्ड आफ्नै दल, नेता र समूहबाट पनि नाङ्गिएकाले अब झन संकट माथि संकटमा पर्ने अवस्था देखिएको छ । (साँघु अनलाइन बाट साभार)