धनगढी । राष्ट्रिय एकता अभियान कैलाली र सप्तरीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी आयाेजना गरेकाे छ ।

धनगढीमा आयाेजित विचार गाेष्ठीका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘छिमेकी देशहरूसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्ने र प्रवर्द्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत विरोधी तत्वहरूलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्कन्छ र उहाँबाट पनि यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गर्दछ। दुई देशबीचको खुला सिमाना हाम्रो सम्बन्धको विशिष्ट विशेषता हो। प्रतिबन्ध बिनाको सिमानाले एकअर्काको क्षेत्रमा हाम्रा जनताको स्वतन्त्र आवतजावतलाई धेरै सहज बनाएको छ।’

त्यस्तै कार्यक्रमका अध्यक्षता गरेका नेपाली सांस्कृतिक परिषद्का महासचिव हर्क स्वाँरले नेपाल–भारतकाे संस्कृति मिल्दाेजुल्दाे रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’विकास क्षेत्रमा नेपाल–भारत सहकार्य अतिआवश्यक छ, यसले दुवै देशलाई सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक हिसाबले मुजबुत बनाउँछ।’

त्यस्तै कार्यक्रममा सहभागी ल्यान्स कलबका अध्यक्ष सीबी चन्द, नेपाल पत्रकार महासंघका सदस्य प्रेम चौधरी र वरिष्ठ पत्रकार कर्ण शाहले नेपाल–भारत मित्रतालाई जाेड दिँदै दुवै देशका सरकार मिलेर अघि बढ्नु पर्ने बताएका थिए।
कार्यक्रमका सञ्चालन शिव थापाले गर्नु भएको थियो।

त्यस्तै राजविराजमा आयाेजित विचार गाेष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता रामकुमार यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जाेड दिनु भएकाे थियाे ।

उहाँले भन्नुभयाे,’नेपाल–भारतबीच राेटी बेटीकाे सम्बन्ध छ, जसले दुई देशकाे सम्बन्धलाई अझ मजबुत बनाएकाे छ, नेपालकाे आर्थिक विकासमा भारतकाे ठुलाे याेगदान छ, त्यसैले अब विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्छ।’

त्यसैगरी कार्यक्रममा राष्ट्रिय एकता अभियान सप्तरीका सल्लाहकार अधिवक्ता सागर वीर कडारिले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता गरेकी राष्ट्रिय एकता अभियान सप्तरीकी जिल्ला संयाेजक सुनिता चाैधरीले पनि नेपाल–भारतकाे सम्बन्धकाे बारेमा चर्चा गर्नुभएकाे थियाे ।