नेपालका १४ खेलाडीले चीनको हाइनान प्रान्तमा हुने हाइनान बिच तेक्वान्दो एलिट टुनामेन्टमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

चीनको हाइनान प्रान्तको सान्या सहरमा जुलाई २६ देखि ३० सम्म हाइनान बिच तेक्वान्दो एलिट टुनामेन्टमा आयोजना हुँदै छ । त्यसका लागि राष्ट्रिय खेलकुल परिषद् (राखेप) का पूर्वबोर्ड सदस्य कुमार लामा घिसिङसहितको नेपाली टोली त्यसतर्पm आइतबार नै प्रस्थान गरेका छन् । लामाले उक्त प्रतियोगितामा रेफ्रीको भूमिका निभाउनेछन् । नेपाली टोलीको प्रशिक्षक १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक काजल श्रेष्ठ छिन् । उनी गोंगबु तेक्वान्दो डोजाङका प्रमुख र लस एन्जलस २०२८ ओलम्पिकका लागि छनोट गरिएका विश्वभरका १६९ स्ट्यान्डिङ रेफ्रीमध्ये एक हुन् ।

नेपालका लागि क्योरुगीतर्फ महिला ३६ केजीमा दिपश्री तामाङ, ३८ केजीमा जोलिना बस्नेत, ३४ केजीमा हृदायणी बस्नेत, ७३ केजीमाथि पार्वती बस्नेत तथा पुरुष ४६ केजीमा लभयोग सुनुवार र कुश योग सुनुवार, २८ केजीमा सोहन पाठक, ६८ केजीमा सिर्जल ढकाल र ८० केजीमा छुल्टिम लामा प्रतिस्पर्धा गर्नेछन् । ब्रेकिङ विधामा महिलातर्फ पूजा क्षेत्री तथा पुरुषतर्फ राजकुमार लामाले प्रतिस्पर्धा गर्नेछन् । पुम्सेतर्फ १२ वर्षमुनिमा एमी कार्की, १२ वर्षमुनिमा अनुप शाक्य तथा १० वर्षमुनि अनस्टिन पाण्डेले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । हेड अफ टिममा सोममाया थिङ र टिम म्यानेजरमा दिवाकार भण्डारी छन् । अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा रहेका कुमार लामा घिसिङले प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने बताए ।