मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भबिलबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेका छन् ।
केडिया ग्रुपको आयोजनामा पहिलोपल्ट नेपालमा हुन लागेको पुरुषतर्फ फ्रेन्चाइज भलिबल लिगको अक्सनमा चिरञ्जीवी र सनोज ६ वटै फ्रेन्चाइज टोलीको रोजाईमा परेका हुन् । ललितपुरस्थित होटल टुलिफमा आइतबार भएको अक्सनमा क्याटगोरी ‘ए’ का चिरञ्जीवीलाई काठमाडौं रेड्समा र सनोज कर्णाली शिभराजमा लक्की ‘ड्र’ मार्फत पुगे । कुल ५४ जना रहेको क्याटगोरी ‘ए’ को खेलाडीका लागि न्यूनतम् एक लाख र अधिकतम् एक लाख २० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । एनभिएलका ६ वटा फ्रेन्चाइज टोली कर्णाली र काठमाडौंसँगै सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, अन्नपूर्ण स्पाइकर किङ्स र खप्तड फाल्कन्सले अक्सनमा चिरञ्जीवी र सनोजका लागि प्रतिस्पर्धा गरेका थिए । हरेक टोलीले अक्सनबाट समान सात खेलाडी आफ्नो टिममा अनुबन्ध गर्नु पर्नेछन् ।
क्याटगोरी ‘ए बाट चार जना र क्याटेगोरी ‘बी’ का ७३ खेलाडीबाट ३ जना अनुबन्ध गर्नुपर्ने प्रावधान थियो । ‘ए’ मा बिक्री नभएका खेलाडी ‘बी’ मूल्यमा अक्सनमा सहभागी गराइएको थियो । ‘उचाईको नयाँ उडान’ नारा साथ नेपालमै पहिलोपटक हुन लागेको नेपाल भलिबल लिग आगामी भदौ १२ देखि २० गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को राखेप कभर्डहल हुँदै छ । अक्सनमा सबैभन्दा पहिलो बिक्री राजेन्द्र धामी रहे । उनलाई लक्की ‘ड्र’ मार्फत अन्नपूर्ण स्पाइकर किङ्सले पायो । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका अपोजिट हिटर राजेन्द्रमाथि सगरमाथा स्म्यासर्सबाहेक पाँच वटा फ्रन्चाइज टोलीले सर्वाधिक एक लाख २० हजार रुपैयाँ बोली लगाए । अन्नपूर्णले आउट साइड हिटर सुरेन्द्र खत्री, अपोजिट हिटर रवि केसी र मिडल ब्लकर विश्वास अधिकारीलाई किन्यो ।
.jpg)
अन्नपूर्णले रविलाई र विश्वासलाई न्युनतम् एक लाख तथा सुरेन्द्रलाई एक लाख २० हजार रुपैयाँमा आफ्नो बनाएको हो । सगरमाथा स्म्यासर्सले सेटर सुवास कुवँर, लिबेरो भीबहादुर गाहा मगर, दीपकराज जोशी र रूपेन्द्र गैरेलाई किन्यो । उसले सुवासलाई लक्की ड्रमार्फत खरिद गर्दा अन्यलाई न्युनतम् मूल्यमा नै पायो ।
मधेश वारियर्सले ‘ए’ क्याटगोरीबाट लिबेरो राजन दर्लामी मगर, अपोजिट हिटर धनबहादुर भट्ट, मिडल ब्लकर सन्तोष महता र रामविनय यादवलाई अक्सनबाट खरिद गर्यो । मधेशले लिबेरो राजन र रामविनयलाई न्युनतम् मूल्य एक लाख रूपैयाँमा आफ्नो बनाएको हो । मधेशले अपोजिट हिटर धनबहादुरलाई भने लक्की ड्र’ मार्फत पायो । उनीमाथि तीन वटा खप्तड वारियर्स फल्कन्स, काठमाडौं रेड्स र मधेश वारियर्सले सर्वाधिक बोली लगाएका थिए । मिडल ब्लकर सन्तोषलाई पनि मधेशले ड्रमार्फत नै भित्रायो । उनीमाथि कर्णालीबाहेक ५ वटै टोलीले बोली लगाएका थिए । त्यति बेलासम्म कर्णालीले यो क्याटगोरी ‘ए’ बाट चार जना खेलाडी किनिसकेको थियो ।
कर्णाली शिभराजले सर्वाधिक रुचाइएका सनोजसँगै मिडल ब्लकर निर्पध्वज बस्नेत, लिबेरो विनोद चन्द र आउट साइड हिटर सुरज चुनारालाई अक्सनबाट किन्यो । निर्पध्वजमाथि एक लाख २० हजार बोली लागेपछि कर्णालीले लक्की ‘ड्र’ मार्फत उनलाई आफ्नो बनायो । मिडल ब्लकरमाथि उनीमाथि सबैले सर्वाधिक बोली लगाएका थिए । लिबेरो विनोद पनि लक्की ’ड्र’ मार्फत शिभराज पुगे । उनलाई मधेश र काठमाडौंबाहेक सबैले बोली लगाए । शिभराजले आउट साइड हिटर सुरजलाई पनि लक्की ड्रमार्फत नै लियो । तीन टोलीले उनीमाथि बोलाएका थिए । काठमाडौं रेड्सले लिबेरो सन्तोष राई, मिडल ब्लकर चिरञ्जीवी खड्का र आउट साइड हिटर सन्तोष बिकलाई लक्की ‘ड्र’ मार्फत अधिकतम् एक लाख २० हजार रुपैयाँमा टिममा पाएको छ ।
काठमाडौंले ‘ए’ क्याटगोरीका आउटसाइड हिटर बलदेव धामीलाई भने न्युनतम् एक लाख रुपैयाँमा नै प्राप्त गर्यो । काठमाडौंले लगातार लक्की ड्रमार्फत लिबेरो सन्तोष र आउट साइड हिटर सन्तोषलाई आफ्नो बनाएको थियो । काठमाडौं रेड्सले सबैभन्दा धेरै रूचाइएका मिडल ब्लकर चिरञ्जिवी खड्कालाई लक्की ड्रमार्फत नै पायो । उनीमाथि सबै ६ वटै फ्रेन्चाइज टिमले बोली लगाए । सबै फ्रेन्चाइज टोलीले बोली लगाएको उनी दोस्रो खेलाडी हुन् । खप्तड फाल्कोन्सले अपोजिट हिटर सरोज बर्देवा र मिडल ब्लकर प्रेमप्रसाद गौतमलाई लक्की ‘ड्र’ मार्फत अधिकतम् एक लाख २० हजार रुपैयाँमा आफ्नो बनाउन सफल भयो । ‘ए’ क्याटगोरीकै मिडल ब्लकरद्वय इन्द्र बिक र विपस थापा भने न्युनतम् एक लाख रुपैयाँमा नै खप्तडमा पुगे ।
.jpg)
क्याटगोरी ‘बी’ बाट पनि सबै टोलीले समान तीन खेलाडी अनुबन्ध गरे । खप्तड फाल्कन्सले नवराज थापामगरलाई ५० हजार, पारस बोहरालाई ७० हजार र नवराज धामीलाई ५० हजार रुपैयाँमा अनुबन्ध गर्यो । कर्णाली शिवराजले सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्लालाई समान ५०–५० हजार रुपैयाँमा टोलीमा भित्रायो । काठमाडौं रेड्सले दीपेश कुँवरलाई ५० हजार, पुष्करसिंह धामी र जितबहादुर धुंगाललाई समान ७०–७० हजार रुपैयाँमा अनुबन्ध गर्यो । अन्नपूर्ण स्पाइकर किङ्सले विभाष आले, जितबहादुर सार्की र देव राना मगरलाई समान ५०–५० हजार रुपैयाँमा टोलीमा आबद्ध गर्यो ।
सगरमाथा स्म्यासर्सले रमेश बम, संजोग परियार र रेशम छन्त्याललाई समान ५०–५० हजार रुपैयाँमा अनुबन्ध गर्दा मधेश वारियर्सले विप्सन शाही ठकुरीलाई ७० हजार तथा सञ्जु विक्रम शाह र रविन रसाइलीलाई समान ५० हजार रुपैयाँमा टोलीमा समेट्यो । नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीले मार्की खेलाडी र मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । सबैले तीन विदेशीसहित कुल १२ खेलाडी राख्न पाउने प्रावधान छ । हरेक टिमले ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्नुपर्नेछ ।
सगरमाथा स्म्यासर्सका मार्की खेलाडी हरिहजुर थापा र प्रशिक्षकमा उत्सव खड्का, मधेश वारियर्सको मार्की रविन नगरकोटी र प्रशिक्षकमा भरत यादव, काठमाडौं रेड्सका मार्की प्लेयर सुनिल बोहरा र प्रशिक्षकमा निपबहादुर बिक, अन्नपूर्ण स्पाइकर किङ्सको मार्की हिमाल सुनारी र प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजको मार्की पहल गहतराज र चन्द्रबहादुर कुँवर तथा खप्तड फाल्कन्स मार्की धिरोज बस्नेत र प्रशिक्षकमा रूपेशकुमार बिष्ट छन् । अक्सनमा केडिया ग्रुपका अध्यक्ष विमल केडिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता तथा राष्ट्रिय टोलीका वर्तमान काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत अक्सनमा सहभागी भएका थिए ।

प्रतिक्रिया