नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटना लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न गरेका छन्।
यसबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सरकार र प्रधानमन्त्रीको भूमिकाबारे कडा टिप्पणी गरेका हुन्। सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी छैनन्। बैठकमा भाग लिएर निस्कने बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता थापाले संकटको बेलामा प्रधानमन्त्रीले ठालु बनेर बस्न नमिल्ने बताए। उनले भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीको भाउ खाएर बस्ने हो ? यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो ? यो बेलामा रिच आउट गर्नु पर्दैन ? यो बेलामा सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ?’
सुनसरीमा घटेको घटनाको सन्दर्भमा प्रमुख राजनीतिक दलहरू एक ठाउँमा बसेर साझा प्रयास गर्ने पहल गरेको भन्दै उनले रास्वपा र सभापति लामिछानेलाई धन्यवाद दिए। नेपाली समाजमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अन्तरनिहित शक्ति भएको बताउँदै कसैले पनि आवेग र उत्तेजनामा नआइकन संयमताका साथ संवाद गर्नुपर्नेमा उनले जोड दिए। आफ्नो पार्टीले स्थानीय तहदेखि नै जनप्रतिनिधिहरूसँग संवाद गरेर सद्भाव कायम राख्न अपिल गरेको उनले जानकारी दिए।
सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै नेता थापाले भने, ‘यतिखेर सरकार के गर्दै छ ? सरकार कहाँ छ ? सरकार केवल बन्दुकको गोलीमा र लाठीमा मात्र भेटिने हो र ? सरकार स्टाटसमा मात्र सीमित रहने हो र ? सरकार भनेको अभिभावक मात्र होइन, सरकार लिडर पनि हो।’ प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपति र विभिन्न तहका सरकारहरूसँग संवाद गरेर साझा आधार निर्माण गर्नुपर्ने उनको माग छ।
कोभिड र भूकम्पको संकटको बेलामा पनि दलहरूबिच राजनीतिक तनाव हुँदाहुँदै पनि सबै मिलेर अगाडि बढेको इतिहास स्मरण गराउँदै उनले अहिले पनि प्रधानमन्त्रीले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको छ। यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न नचाहेको तर सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया