सदैव ! सदैव!! सदैव!!!

ज्योति फैलाउन कोशिस गर्ने

अज्ञानी, अञ्जानी शिष्यहरुलाई

तर्साएर, कुटेर, खेदेर, मायाँ गरेर, उत्प्रेरणा जगाएर

हाम्रो समिपमा रहेर, काखमा राखेर

सदैव, सदैव, सदैव

चेलाहरूको पक्षमा उभिने

गुरुहरूप्रति नमन अनि सम्मान छ।

नाउ ख्याउने माझीसँग तुलना गर्दै

बर्षै पिच्छे हरेक नयाँ पात्रहरू उतार्दै

कहिले भेलबाढीहरुलाई छिचोले होलान्

कहिले नीलो दहमा फाल हानेर पार गराए होलान्

छहरा, छाँगाहरु कटाए होलान्

निरास र खुशी हुँदै

बसन्तहरु पार गराउने

गुरुहरू प्रति हार्दिक नमन अनि सम्मान छ

कैयन् गुरुहरू,

क्यान्सरसँग लडिरहनुभएको होला,

प्रेसरसँग जुधिरहनुभएको होला।

सुगरसँग भौंतारिरहनुभएको होला।

रोगलाई साथमा लिएर जीवन जिइरहेका

वाल्यकालका, उमेरका, जवानीका

अर्ति उपदेश दिइ रहने

गुरुहरू प्रति नमन छ; सम्मान छ।

कहिले विरोधमा आइयो, तताइयो, सताइयो होला,

त्यो पनि सहनुभयो

कहिले समर्थनमा गइयो होला

त्यो पनि स्विकार्नुभयो।

कहिले नाजायज तुलना गरियो

त्यो पनि धन्य ठान्नुभयो

शिक्षित बनाउँदै अशिक्षित ठहरिने

गुरुहरू प्रति सम्मान छ।

रीस, द्वेष त्यागेर

बिचार, बचनहरू सबै फालेर

पेन्सिल, डटपेन, कलम समातेर

किताबका पानाहरू पल्टाउँदै

अन्याय र अत्याचारका विरुद्धमा

लड्न सिकाउने, भिड्न तयार बनाउने,

शक्ति प्रदान गर्ने, गराउने

गुरुहरू प्रति सम्मान छ।

मलाई ‘क’ ‘ख’ सिकाउँदा

ब्याट्रीको कालोले तपाईको स्वर खासिँदा

गुरुआमाले गोजीमा पैसाको साटो कागज देखाएर सिटिरहँदा

तपाईको मन पीडादायी बनेको क्षणमा

आफ्नो भविष्य बिर्सँदै

एक सुको कोहीसँग नलिँदै

इज्जतका साथ वालमस्तिष्कमा रुपान्तरणको आवाज घन्काउने

गुरुहरूप्रति सम्मान छ।

रावाबेसी-४, खोटाङ।