सुनसरी जिल्लाको देवागञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा हालै भएको झडपको घटनाप्रति नेपाली कांग्रेस, सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको केन्द्रीय समन्वय समितिले गहिरो दुःख व्यक्त गरेको छ।
समन्वय समितिका संयोजक शंकर भण्डारीद्वारा जारी प्रेस वक्तव्यमा घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। उनले नागरिकको ज्यान जाने र गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्दै गम्भीर प्रश्न उठाएका छन्। राज्य पक्षबाट सुरक्षा प्रबन्ध गर्न र संयमित भएर झडप नियन्त्रण गर्न चुक भएको देखिएको उल्लेख गर्दै घटनाको स्वच्छ र निष्पक्ष छानबिन गर्न उनको माग छ। साथै, शान्ति सुव्यवस्था कायम गर्न विशेष भूमिका खेल्न सरकारसँग आग्रह गरिएको छ ।
साउने सोमबारको पावन अवसरमा बोलबम यात्राका लागि निस्केका हिन्दू धर्मावलम्बी युवाहरूमाथि भएको आक्रमण र डिजे बजाउने विषयलाई लिएर भएको हिंसात्मक घटनाले सनातन हिन्दू आस्थामाथि आघात पुगेको वक्तव्यमा उल्लेख छ।
भण्डारीले धार्मिक आस्थामाथिको आक्रमण कुनै पनि हिसाबले स्वीकार्य नहुने जनाउँदै हिन्दूहरूको शान्तिपूर्ण धार्मिक अभ्यासलाई रोक्ने र आस्था परम्परामाथि प्रहार गर्ने प्रयास स्वीकार्य नभएको बताएका छन्। नेपाल सनातन धर्म र संस्कार बाहुल्य देश भएको र आपसी सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएकोमा उनको जोड छ।
प्रेस वक्तव्य हेर्नुस्


प्रतिक्रिया