सुनसरीमा भएको घटनाको विषयमा मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ।

सप्तरी, सिरहा, रौतहट र पर्सालगायत जिल्लामा बुधबार प्रदर्शन, र्‍याली, नाराबाजी तथा राजमार्ग अवरोध गरिएपछि उक्त घटनाले प्रदेशको राजनीतिक तथा सामाजिक वातावरणलाई थप संवेदनशील बनाएको पाइएको छ।

प्रदर्शनका क्रममा सप्तरीको कञ्चनपुर र राजविराजमा विरोध सभा र नारा जुलुस निकालिएको थियो। सिरहाको लहान बजारबाट निकालिएको र्‍यालीले गोलबजार, बन्दीपुर र चोहर्वा क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेको सुरक्षा श्रोतले जनाएको छ।

यसैगरी रौतहट सदरमुकाम गौरको बिपी चौकमा आन्दोलनकारीहरुले प्रदर्शन गरेका छन् भने पर्साको वीरगञ्जमा पनि विरोध कार्यक्रम आयोजना गरिएको छ।

प्रदर्शनकारीहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडितलाई न्यायको माग गरेका छन्।

विभिन्न स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको भए पनि हालसम्म प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रहेको जनाइएको छ।

मधेसमा सुनसरी घटनाप्रतिको आक्रोश मात्र नभई पछिल्लो समय मधेसमा बढ्दै गएको असन्तुष्टि, राज्यप्रतिको अविश्वास र पहिचानसँग जोडिएका भावनाहरूको विषयमा सरकारले घटनालाई गम्भीर रूपमा सम्बोधन गर्न नसके आन्दोलन अझै व्यापक बन्न सक्ने संकेत देखिएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्र गोपालिले बताए।

मधेसका जिल्लाहरूमा एकै दिन समान प्रकृतिका प्रदर्शन हुनु स्वतःस्फूर्त प्रतिक्रिया मात्र नभई विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक समूहबिच समन्वय बढ्दै गएको संकेतका रूपमा पनि हेरिएको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष गोपालिको दाबी छ।

सरकारका लागि अहिलेको मुख्य चुनौती घटनाको सत्यतथ्य सार्वजनिक गर्नु, निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनु र आन्दोलनरत पक्षसँग संवादमार्फत विश्वास पुनः स्थापित गर्नु हो।

अन्यथा सुनसरीबाट सुरु भएको असन्तुष्टिको लहर मधेसका अन्य जिल्लासमेत हुँदै राष्ट्रिय राजनीतिक मुद्दाका रूपमा विकसित हुन सक्ने सम्भावना बढ्दै गएको छ।