सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुई समुदायबिच खलल पुर्याउने हिसाबले बजारमा प्रदर्शन गर्न आएका चार जना युवालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका हुन्। उनीहरूले प्रयोग गरिरहेका तीन वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार बिहान बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बरहथवाले सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठक चलिरहेका बेला बाहिरबाट केही व्यक्ति प्रदर्शन गर्न बजारतर्फ आएको सूचना प्राप्त भएपछि बैठकमा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यापारी तथा स्थानीयहरू घटनास्थल पुगेर चार जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीले बताए।
सर्वदलीय बैठकमा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पनाकुमारी कटुवाल, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा उद्योग वाणिज्य संघ बरहथवाका पदाधिकारी तथा नागरिक अगुवाहरूको सहभागिता थियो।
स्थानीय व्यापारीहरूले बाहिरबाट आउने केही व्यक्तिले प्रदर्शनको बहानामा बजारमा लुटपाट तथा तोडफोडको प्रयास गर्ने गरेको आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया