दक्षिण कोरिया फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक होङ म्युङ बोले फिफा विश्वकपको समूहचरण पार गर्न आफ्नो टोली असफल हुनुमा आफूले पूर्ण जिम्मेवारी लिएको बताएका छन्।
विश्वकपबाट बाहिरिएपछि होङले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। दक्षिण कोरियाली संसद्को खेलकुद तथा संस्कृति समितिले कोरिया फुटबल संघ (केएफए) का गतिविधिबारे गरिरहेको छानबिनको सुनुवाइमा बिहीबार उपस्थित हुँदा ५७ वर्षे प्रशिक्षकले उक्त प्रतिक्रिया दिएका हुन्। उनले सन् २००२ मा घरेलु भूमिमा भएको विश्वकपमा दक्षिण कोरियाका पूर्वडिफेन्डरका रूपमा खेलेका खेले। होङको टोली दक्षिण अफ्रिकासँग अप्रत्याशित रूपमा १–० ले पराजित हुँदै बाहिरिएको थियो। उनी समर्थक, विश्लेषक र राजनीतिज्ञको तीव्र आलोचनाको केन्द्र पनि बनिरहेका छन्। दक्षिण अफ्रिकाविरुद्ध बराबरी गरे मात्रै पनि नकआउट चरणमा पुग्नसक्ने अवस्थामा होङ असफल भए। अनुभवी कप्तान सन ह्युङ मिनलाई सुरुआती टोलीमा नराख्ने उनको निर्णय पनि आलोचना भयो। त्यसले समर्थकहरू थप आक्रोशित बने।
टोली स्वदेश फर्किंदा विमानस्थलमै समर्थकहरूले उनको विरोध गर्दै हुटिङ गरेका थिए। उनी राष्ट्रपति ली जे म्युङबाट पनि आलोचित भए। अयोग्य व्यक्तिलाई नेतृत्व दिँदा टोलीको असफल भएको राष्ट्रपतिको जिकिर थियो। उनले आफ्नो वक्तव्यमा होङको नाम उल्लेख नगरे पनि खेलकुदको उच्च तहमा निष्ठा र गुटबन्दीका आधारमा नियुक्ति भएको संकेत गरेका थिए।
सुनुवाइका क्रममा सांसदहरूले सन् २०२४ मा होङलाई मुख्य प्रशिक्षक नियुक्त गर्दा उनलाई विशेष प्राथमिकता दिइएको आरोपबारे पनि प्रश्न उठाए। केएफएका पदाधिकारीहरू उनको बसोबास क्षेत्रमै पुगेर अपारदर्शी ढंगले अन्तर्वार्ता लिएको दाबी सार्वजनिक भएका छन्। ‘मेरो बुझाइमा सम्पूर्ण प्रक्रिया निर्धारित नियमअनुसार नै पूरा गरिएको थियो,’प्रशिक्षकको दाबी छ। उनले कुनै विशेष सुविधा वा लाभको माग नगरेको पनि स्पष्ट पारेका छन्।
सांसदहरूले उनलाई वार्षिक ३.८ अर्ब वन (करिब २६ लाख अमेरिकी डलर) पारिश्रमिक दिएको दाबीबारे पनि प्रश्न गरेका छन्। होङले उक्त रकम गलत भएको दाबी गरे पनि वास्तविक पारिश्रमिक सार्वजनिक गर्न अस्वीकार गरे। मेक्सिको, अमेरिका र क्यानडामा संयुक्त रूपमा आयोजित ४८ राष्ट्र सहभागी विश्वकपमा दक्षिण कोरिया अन्तिम ३२ मा पुग्न नसकेकोमा उनले क्षमायाचना गरे। ‘म मुख्य प्रशिक्षक थिएँ। त्यो यस्तो पद हो जसको अन्तिम मूल्यांकन नतिजाबाट हुन्छ,’ उनले भने,‘यस विश्वकपमा हाम्रो प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। त्यसैले सम्पूर्ण जिम्मेवारी म नै लिन्छु।’
दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले सन् २०२६ को टोलीलाई स्वर्णिम पुस्ताको संज्ञा दिएका थिए। टोटेनहम हट्सपर पूर्वस्टार सन ह्युङ मिन, बायर्न म्युनिखका डिफेन्डर किम मिन जे र पेरिस सेन्ट जर्मेनका पूर्वमिडफिल्डर ली काङ इनजस्ता खेलाडी रहेको टोलीबाट ठूलो अपेक्षा गरिएको थियो।

प्रतिक्रिया