वीरगञ्जमा हिन्दु युवा समूहले विभिन्न माग राख्दै प्रदर्शन सुरु गरेका छन्।

प्रदर्शनकारीले ‘हिन्दुमाथिको आक्रमण बन्द गर’, ‘गृहमन्त्रीले राजीनामा देऊ’ र ‘दोषीमाथि कडा कारबाही गर’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।

यसअघि प्रदर्शन हुन नदिन तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको थियो। बैठकपछि विभिन्न राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजको सहभागितामा वीरगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

तर, सद्भाव र्‍याली सम्पन्न भएको केहीबेरमै हिन्दु युवा समूहले घण्टाघर क्षेत्रमा टायर बालेर प्रदर्शन सुरु गरेको हो।

प्रदर्शनस्थलमा सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।