प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई नियन्त्रणमा लिन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेको उल्लेख गर्दै नागरिकलाई कुनै पनि अफवाह वा भ्रममा नपरी संयमता अपनाउन आग्रह गरे।

प्रधानमन्त्री शाहले सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकको सुरक्षा, उनीहरूमा विश्वासको वातावरण निर्माण तथा घटनाको निष्पक्ष र पारदर्शी छानबिन रहेको स्पष्ट पारे। उनले शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाउन र तनाव फैलिन नदिन सरकारले बहुआयामिक रणनीति अवलम्बन गरिरहेको पनि बताए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई तत्काल आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न, उनीहरूको गुनासो सुन्न र राज्य तथा जनताबीच विश्वासको सेतुका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे। विपद्, संकट र असहज परिस्थितिमा जनताको साथमा उभिनु जनप्रतिनिधिको सबैभन्दा ठूलो दायित्व भएको उनले स्मरण गराए।

सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्दै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा परिचालित हुने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा आशा, विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूको भनाइ थियो।

छलफलमा स्थानीय तहमा दीर्घकालीन शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सुदृढ बनाउन धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद अघि बढाउनुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो।

त्यसैगरी तनावग्रस्त तथा आसपासका क्षेत्रमा सामाजिक र धार्मिक सद्भाव प्रवर्द्धन गर्ने सकारात्मक सन्देश निरन्तर प्रवाह गर्नुपर्ने, सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट विशेषगरी युवापुस्तालाई जोगाउन स्थानीय तहमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिएका थिए।