आज देशका विभिन्न कुनाबाट जातीय र धार्मिक तनावका समाचारहरू आइरहेका छन्। कतै आस्थाका नाममा विभाजन छ, कतै जातका नाममा द्वन्द्व। यस्ता खबरहरू पढ्दा मन भारी हुन्छ। अनि अनायासै सम्झनामा आउँछ, मेरो जन्मगाउँ, बाजुराको बुढीनन्दा नगरपालिका–कोटिला।

त्यो केवल एउटा गाउँ होइन, मेरो बाल्यकालको संसार हो। जहाँ मानिसलाई धर्मले होइन, व्यवहारले चिनिन्थ्यो। जहाँ सम्बन्धको आधार जात होइन, आत्मीयता थियो। जहाँ हामीले मानवताको पाठ कुनै किताबबाट होइन, गाउँको जीवनबाट सिक्यौँ।

हाम्रो गाउँमा पुस्तौँदेखि मुस्लिम समुदाय बसोबास गर्दै आएको छ। बाजुरा जिल्लामै मुस्लिम समुदायको स्थायी बसोबास भएको यो एक विशिष्ट बस्ती हो। आज उनीहरूको संख्या करिब ३५ भन्दा बढी परिवार पुगेको छ। तर यो तथ्यभन्दा पनि ठूलो सत्य के हो भने- हामीले उनीहरूलाई कहिल्यै ‘अरू’ ठानेनौँ। उनीहरू हाम्रो परिवारका सदस्य थिए, छन् र रहिरहनेछन्।

बाल्यकालमा हामीले एउटै धाराको पानी पियौँ। एउटै बाटो हिँड्यौँ। एउटै बनजंगलमा खेल्यौँ। एउटै खेतबारीमा पसिना बगायौँ। हामीसँग छुट्टाछुट्टै धर्म थिए, तर एउटै गाउँ थियो। फरक–फरक प्रार्थना थिए, तर एउटै मन थियो।

दशैं आउँदा मुस्लिम दाजुभाइको घर पनि हाम्रो खुसीले भरिन्थ्यो। इद आउँदा हाम्रो गाउँ पनि उनीहरूको उत्सवसँगै मुस्कुराउँथ्यो। चाडपर्व कसैको व्यक्तिगत उत्सव थिएन, गाउँकै साझा खुसी थियो। कसैको घरमा विवाह हुँदा सबै पुग्थ्यौँ। कसैको घरमा शोक पर्दा सबैको आँखा रसाउँथ्यो। सुख–दुःख बाँड्ने संस्कारले नै हाम्रो गाउँलाई परिवार बनाएको थियो।

गाउँमा करिब २०–२२ थरका क्षेत्री समुदायको बसोबास छ। मुस्लिम समुदायले पनि आफ्नै धार्मिक परम्परा र संस्कारअनुसार जीवन बिताउँछन्। सबैले आफ्ना–आफ्ना गोत्र, परम्परा र विश्वासलाई सम्मान गर्दै विवाह गर्छन्। तर सामाजिक सम्बन्धमा कहिल्यै विभाजन देखिएन। धर्मले दूरी बढाएन, बरु सम्मानले निकटता बढायो।

आज समाजमा धर्मका नाममा घृणा फैलाउने आवाजहरू सुन्दा लाग्छ, हामीले इतिहासबाट होइन, आफ्नै गाउँबाट सिक्नुपर्ने धेरै कुरा बाँकी छ। धर्म मानिसको व्यक्तिगत आस्था हो। त्यो स्वतन्त्रताको विषय हो। तर मानवता हाम्रो साझा धर्म हो, जसलाई कुनै सीमाले बाँध्न सक्दैन।

मलाई गर्व छ, म त्यही गाउँको सन्तान हुँ जहाँ हामीले धार्मिक सहिष्णुतालाई भाषणमा होइन, जीवनमा उतारेका थियौँ। जहाँ मुस्लिम र हिन्दुबीचको सम्बन्ध समाचार बन्ने विषय थिएन, किनकि त्यो त हाम्रो दैनिक जीवनको सामान्य अभ्यास थियो।

सायद आज देशलाई यस्तै गाउँहरूको कथा धेरै सुनाउन आवश्यक छ। किनकि समाजलाई विभाजन गर्ने आवाजभन्दा समाजलाई जोड्ने अनुभवहरू धेरै शक्तिशाली हुन्छन्।

यदि नेपाललाई अझ सुन्दर, समावेशी र शान्त बनाउने हो भने हामीले एकअर्काको धर्म परिवर्तन गर्नुपर्दैन, मन परिवर्तन गर्नुपर्छ। सम्मान गर्न सिक्नुपर्छ। स्वीकार गर्न सिक्नुपर्छ। प्रेम गर्न सिक्नुपर्छ।

मेरो जन्मगाउँ कोटिलाले मलाई यही सिकायो- मानिसको सबैभन्दा ठूलो परिचय उसको धर्म होइन, उसको मानवता हो।

आज पनि जब म गाउँ सम्झन्छु, मलाई कुनै मन्दिर वा मस्जिदभन्दा पहिले एउटै धाराको पानी, एउटै आँगनको हाँसो र एउटै परिवारझैँ बाँडिएको जीवन सम्झना आउँछ।

अनि मनभित्र एउटा प्रार्थना जन्मिन्छ: हे नेपाल, हरेक गाउँ कोटिलाजस्तै बनोस्। जहाँ धर्म फरक होस्, तर मन कहिल्यै फरक नहोस्। जहाँ आस्था फरक होस्, तर आत्मीयता सधैँ एउटै रहोस्। त्यही दिन हाम्रो राष्ट्रिय एकता साँच्चै बलियो हुनेछ।