मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव, हिंसा र अशान्तिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

बिहीबार जारी वक्तव्यमा मन्त्री महतोले कुनै पनि घटनालाई धार्मिक वा साम्प्रदायिक रंग दिएर समाजमा विभाजन सिर्जना गर्ने, अफवाह फैलाउने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसार नगर्न सम्पूर्ण प्रदेशवासीसँग अनुरोध गरेका छन्।

उनले प्रदेश सरकारले शान्ति–सुरक्षा र कानूनी शासन कायम राख्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको तथा प्रदेशभरको अवस्थाको निरन्तर अनुगमन भइरहेको उल्लेख गरेका छन्।

वक्तव्यमा हिंसा, तोडफोड, आगजनी, घृणा फैलाउने गतिविधि तथा सार्वजनिक शान्ति भंग गर्ने जो–कोहीलाई कानुनअनुसार निष्पक्ष र कडा कारबाही गरिने स्पष्ट चेतावनी पनि दिइएको छ।

गृहमन्त्री महतोले धार्मिक अगुवा, बुद्धिजीवी, जनप्रतिनिधि, नागरिक समाज, शिक्षक, विद्यार्थी, सञ्चारमाध्यम तथा राजनीतिक दललाई सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा सामाजिक सद्भाव र सुरक्षा अवस्थाबारे चासो बढिरहेका बेला मधेस प्रदेश सरकारले पनि साम्प्रदायिक सद्भाव जोगाउन सबै पक्षलाई जिम्मेवार र संयमित बन्न आग्रह गरेको हो।