विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले विश्वकप प्रतियोगितालाई एउटा निजी व्यावसायिक कम्पनी बनाएर चलाउने विवादास्पद योजना अघि सारेको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले २० अर्ब अमेरिकी डलर बराबरको नयाँ व्यावसायिक कम्पनी स्थापना गर्ने महत्त्वाकांक्षा अघि सारेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरका भाइ जोशुआ कुशनरको लगानी कोष यस योजनामा मुख्य साझेदारका रूपमा जोडिएपछि विवाद उत्पन्न भएको हो। तर, यो योजना सार्वजनिक हुनासाथ युरोपेली फुटबल महासंघ (युइएफए) ले यसको कडा विरोध गर्दै फिफाका प्रतियोगिताहरू नै बहिष्कार गर्न सक्ने चेतावनी दिएको छ।

सार्वजनिक गरिएको रिपोर्टअनुसार फिफाले विश्वकप, महिला विश्वकप र क्लब विश्वकपजस्ता ठूला प्रतियोगिताहरूको व्यावसायिक अधिकार (प्रसारण अधिकार, विज्ञापन र टिकट बिक्री) हेर्नका लागि ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) नामक एउटा छुट्टै सहायक कम्पनी खोल्न लागेको हो। यस कम्पनीको २० प्रतिशत सेयर निजी लगानीकर्ताहरूलाई बेचेर तत्काल ४.२ अर्ब अमेरिकी डलर पुँजी जुटाउने फिफाको रणनीति छ। यस कार्यका लागि फिफाले विश्वप्रसिद्ध अमेरिकी बैंक जे.पी. मोर्गनसँग समेत वित्तीय सहकार्य गरिरहेको छ।

यस व्यावसायिक योजनाको नेतृत्व अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँका भाइ जोशुआ कुशनरको लगानी कम्पनी ‘थ्राइभ इटर्नल’ ले गर्ने बताइएको छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा हालै सम्पन्न पुरुष विश्वकपपछि राष्ट्रपति ट्रम्प र फिफा अध्यक्ष इन्फान्टिनोबिचको राजनीतिक तथा व्यक्तिगत सम्बन्ध अझ बलियो बनेको छ। फुटबलको व्यापारीकरणमा अमेरिकी राजनीतिक शक्तिको प्रभाव बढेको भन्दै युइएफए लगायतका निकायहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

स्विट्जरल्याण्डस्थित गैर-नाफामुखी संगठन फिफामा हाल विश्वभरका २११ राष्ट्रिय फुटबल संघहरू आवद्ध छन्। अध्यक्ष इन्फान्टिनोले यो योजनामार्फत ‘विश्वव्यापी रूपमा फुटबलको लोकतन्त्रीकरण’ गर्न लागिएको र यससम्बन्धी परामर्श प्रक्रिया सुरु भइसकेको दाबी गरेका छन्। यदि फिफाका सदस्य राष्ट्रहरूले यो योजनालाई अनुमोदन गरेमा उनीहरूले फुटबल पूर्वाधार र विकासका लागि एकमुष्ट २० मिलियन अमेरिकी डलरसम्मको विशेष वित्तीय पुँजी प्राप्त गर्ने अवसर पाउनेछन्।

धेरैले यसलाई साना र गरिब देशका फुटबल संघहरूलाई पैसाको प्रलोभन देखाएर फकाउने रणनीतिका रूपमा हेरेका छन्। यद्यपि, फिफाले नयाँ कम्पनीमा निजी लगानी भित्रिए पनि फुटबलको नियम, खेल तालिका (क्यालेन्डर), प्रतियोगिता सञ्चालन र खेलकुदसम्बन्धी सम्पूर्ण मुख्य निर्णयहरूमा फिफाकै एकल र विशेष अधिकार सुरक्षित रहने स्पष्ट पारेको छ।

यता, युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) ले फिफाको यस कदमप्रति तीव्र आक्रोश व्यक्त गरेको छ। युइएफएले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘बेच्ने अधिकार फिफाको होइन। हामीमध्ये कोही पनि फुटबलको मालिक होइनौँ। फुटबलको आत्मा र यसको व्यवस्थापन व्यापार गर्ने सम्पत्ति होइनन्, विशेष गरी यसबाट कसले आर्थिक रूपमा फाइदा लिइरहेको छ भन्ने कुरामा कुनै पारदर्शिता छैन।’

युइएफएले यो परियोजनाले फुटबलका शासक संस्थाहरूले कहिल्यै पनि पार गर्नु नहुने सीमा पार गरेको बताएको छ। युरोपेली फुटबल सरोकारवालाहरूले यस विषयमा साझा धारणा बनाउन आकस्मिक बैठकसमेत बोलाएका छन्। फिफाको यो नयाँ र विवादास्पद व्यावसायिक योजनाले अन्तर्राष्ट्रिय फुटबल जगतमा ठूलो हलचल पैदा गरेको छ। यसबाट आगामी दिनमा फिफा र महासंघहरूबिचको टकराव अझ बढ्ने संकेत देखिएको छ।

पुरुष विश्वकपको ठूलो आर्थिक सफलताका कारण फिफा अध्यक्ष जियानी इन्फान्टिनो आगामी वर्ष (सन् २०२७ मा) हुने निर्वाचनमा चौथो तथा अन्तिम कार्यकालका लागि सर्वसम्मत रूपमा पुनः निर्वाचित हुने सम्भावना बलियो देखिएको छ। यसअघि सन् २०२३ मा रुवान्डामा भएको कंग्रेसबाट सर्वसम्मत चुनिएपछि इन्फान्टिनोले ठट्टा गर्दै भनेका थिए, ‘कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले यस्तो उत्कृष्ट आर्थिक नतिजा ल्याउँछ भने उसलाई सधैँका लागि जागिरमा राखिन्छ।’ यदि उनी आगामी वर्ष पुनः चुनिएमा सन् २०३१ सम्म फिफाको नेतृत्वमा रहनेछन्।

लन्डनको प्रसिद्ध अखबार ‘द टाइम्स’ ले फिफाको यो नयाँ व्यावसायिक कम्पनी (एफएफई) मा इन्फान्टिनोका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा कमिस्नर सरहको छुट्टै शक्तिशाली पद सिर्जना गर्न लागिएको दाबी गरेको छ। ६१ वर्षको उमेरमा फिफा अध्यक्षको कार्यकाल सकिएपछि उनी अन्तर्राष्ट्रिय फुटबलमा अर्कै ठूलो भूमिकामा रहन चाहेको खेलवृत्तमा चर्चा छ।

यद्यपि, फिफाले एक विज्ञप्ति जारी गर्दै यसको खण्डन गरेको छ र भनेको छ, ‘यस्तो पदबारे कहिल्यै छलफल भएको छैन। तर यो योजना स्वीकृत भएमा फिफा अध्यक्ष र फिफा प्रशासनको यस कम्पनीमा प्रमुख नेतृत्वदायी भूमिका अवश्य रहनेछ।’ यो योजना पारित गराउन २११ सदस्य राष्ट्रहरूबिच कहिले मतदान हुन्छ भन्ने निश्चित समयतालिका सार्वजनिक गरिएको छैन। तर, आगामी नोभेम्बर २३ मा बस्ने फिफाको अनलाइन कंग्रेसमा यसबारे थप छलफल हुन सक्ने अनुमान गरिएको छ।

इन्फान्टिनोले निजी लगानीकर्ताहरूसँग मिलेर फुटबलको व्यापारीकरण गर्न खोजेको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१८ मा पनि उनले जापानको सफ्टबैंकसँग मिलेर २५ अर्ब अमेरिकी डलरको गोप्य सम्झौता गर्ने प्रयास गरेका थिए।

तर, युरोपेली फुटबल महासंघ (युइएफए) को कडा प्रतिरोधका कारण त्यो योजना पूर्ण रूपमा असफल भएको थियो। युइएफएले उक्त योजनालाई आफ्ना दुई मुख्य प्रतियोगिताहरू (च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप) को साख र अस्तित्वमाथिको ठूलो खतराको रूपमा हेरेको थियो।

आगामी सन् २०३० को फिफा पुरुष विश्वकप फुटबल प्रतियोगिता तीन फरक महादेशका छ वटा देशहरूले संयुक्त रूपमा आयोजना गर्दैछन्। यस प्रतियोगिताको मुख्य आयोजकका रूपमा युरोप र उत्तर अफ्रिकाका स्पेन, पोर्चुगल र मोरक्को रहेका छन्, जहाँ प्रतियोगिताका अधिकांश खेलहरू सञ्चालन हुनेछन्।

यस्तै, विश्वकपको १०० वर्षे इतिहास पूरा भएको अवसरमा विशेष शताब्दी उत्सव मनाउनका लागि सुरुवाती तीन खेलहरू दक्षिण अमेरिकामा खेलाइने तय भएको छ। सन् १९३० मा पहिलो विश्वकप आयोजना भएको ऐतिहासिक देश उरुग्वे सहित अर्जेन्टिना र पाराग्वेमा एक-एक वटा उद्घाटन खेलहरू खेलाइने छ र त्यसपछि प्रतियोगिता मुख्य आयोजक राष्ट्रहरूमा सर्नेछ। आयोजक भएका नाताले यी ६ वटै देशहरू सन् २०३० को ४८-टोली सम्मिलित विश्वकपका लागि स्वतः छनोट हुनेछन्। यसका साथै, फिफाले आगामी सन् २०२७ को महिला विश्वकप ब्राजिलमा हुनेछ।

इन्फान्टिनोले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको आफ्नो राजनीतिक र व्यापारिक सम्बन्धलाई लगातार प्रगाढ बनाउँदै लगेका छन्।साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने निश्चित भइसकेको छ। यसका साथै, हालै अमेरिकामा आयोजित परिमार्जित ढाँचाको पुरुष ‘क्लब विश्वकप’ को मुख्य आर्थिक लगानी र व्यवस्थापन पनि साउदी अरेबियाले नै गरेको थियो। एजेन्सीको सहयोगमा