प्रहरीको गोली लागेर आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा एक युवाको मृत्यु भएपछि सोमबार बिहानैदेखि तनाव चर्किएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रण बाहिर जान नदिनका लागि बिहानैदेखि कर्फ्यु आदेश गरेतापनि त्यसको उल्लंघन गर्दै प्रदर्शनकारीले देवानगञ्जसँगै पूर्व पश्चिम राजमार्ग अन्तर्गत लौकहीमा प्रदर्शन गरेका छन्।
प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ निवासी २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।
आइतबार रातिको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म कर्फ्यु जारी गरे पनि बिहानदेखि नै देवानगञ्ज क्षेत्र र लौकहीमा प्रदर्शन जारी राखेपछि स्थिति नियन्त्रणमा जान नदिनका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। कप्तानगञ्ज क्षेत्रमा खटिएका डिएसपी सुभाष हमालका अनुसार स्थिती नियन्त्रणा लिने प्रयास भइरहेको छ।
प्रदर्शनकारीले कप्तानगन्ज चोकमा टायर बालेर नाराबाजी गरेका छन्। प्रदर्शनकारीले बिहान एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरेका छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

मन्दिरमा डिजे ठूलो आवाजमा बजाएको विषयलाई लिएर युवाहरुको दुई समूहबिच देवानगञ्ज गाउँपालिका–४ नयाँहाटमा झडप भएको थियो। दुई पक्षीय विवाद हुनुको पृष्ठभूमिममा केही दिनअघि नयाँहाटमा मुस्लिम समुदायलाई मोहर्रमका अवसरमा मेला सञ्चालन गर्न वडा अध्यक्ष अनिल भगतले मौखिक स्वीकृति दिएका थिए। मेला असार १२ गतेदेखि सञ्चालनमा आएको थियो। मेला सम्पन्न भएपछि हिन्दु समुदायले त्यहाँ राखिएको झण्डा हटाउन गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई आग्रह गरेका थिए।
सम्बन्धित पक्षलाई पटक–पटक झण्डा हटाउन भनिए पनि हटाइएको थिएन। यही विषयमा विवाद भइरहेका बेला हिन्दु समुदायका युवाले सोमबार केही धार्मिक कार्यक्रम गर्ने योजना बनाएर आइतबारदेखि कार्यक्रम गरेका थिए। सो क्रममा ठूलो आवाजमा डिजे बजाएर नाचगान गरिरहेका थिए।
स्थानीयका अनुसार आइतबार हिन्दु समुदायका युवाहरू सुनसरीको कोशी ब्यारेज बोलबमका लागि डिजे बजाउँदै दक्षिणबाट उत्तर नयाँहाटतर्फ जाँदै गर्दा केही मुस्लिम युवाले डिजे बन्द गर्न आग्रह गरेका थिए। त्यसक्रममा भनाभन सुरु भई डिजे बोकेको गाडीमा तोडफोड भएको तथा गाडीको सिसा फुटाएपछि दुई पक्षबिच उग्र झडप भएको थियो। त्यस क्रममा देवानगञ्जबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिन सकेन, पछि सशस्त्र प्रहरी थपिएपछि गोली प्रहार भएको थियो। सो क्रममा प्रहरीले थुप्रै राउण्ड अश्रृग्यास र हवाई फायर गरेको थियो।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयले झडप प्रभावित क्षेत्रमा कफ्र्यु आदेश जारी गर्दै शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकाय परिचालन गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको बताए। यद्यपी, कर्फ्यु जारी रहेकै अवस्थामा प्रदर्शन र आगजनी चर्किएको छ।
घटनामा घाइते भएकामध्ये स्थानीय र जनपथ प्रहरी आठ-आठ जना छन्। अन्य पाँच जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको सुनसरीका डीएसपी चन्द्र खड्काले बताए।

प्रतिक्रिया