नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार (आज) बिहान ८ः३० बजे बस्ने भएको छ। नेता श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको थियो।

उनको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ७९ वर्षको उमेरमा उनको निधन भएको हो। उक्त बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ।