नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा तोडफोडको विरोधमा बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। सोही कार्यक्रमअन्तर्गत दोस्रो दिन पनि नियमित स्वास्थ्य सेवा प्रभावित बनेको हो।
चिकित्सक संघले आज बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा विरोध प्रदर्शन आयोजना गरेको छ।
काठमाडौं बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने, साथै आफ्ना कार्यस्थलमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको संघले जनाएको छ।
संघले नारायणी अस्पतालमा भएको घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चिकित्सक संघले जनाएको छ।

प्रतिक्रिया