नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण अझै पनि कमजोर रहेको र कानुनी तथा नीतिगत व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको एक अध्ययनले देखाएको छ ।

सीबीएम ग्लोबलले सप्रोस, अपाङ्ग महिला संघ तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा तयार गरेको ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदन शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको हो ।

अध्ययनले अपाङ्गता भएका व्यक्तिहरूको बैंक तथा वित्तीय सेवामा पहुँच, सेवा प्रयोग र समावेशीकरणको वर्तमान अवस्थाको विश्लेषण गर्दै वित्तीय प्रणालीमा रहेका संरचनागत, नीतिगत र व्यवहारगत कमजोरीहरू औंल्याएको छ।

साथै वित्तीय समावेशीकरणलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, संस्थागत व्यवस्था तथा कार्यान्वयनका लागि विभिन्न सिफारिस पनि प्रस्तुत गरिएको छ।

कार्यक्रममा प्रयत्न नेपालीकी अध्यक्ष सरिता लामिछानेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, अपाङ्गता अधिकार ऐन तथा नेपाल राष्ट्र बैंकका विभिन्न नीतिगत व्यवस्था भएपनि तिनको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताइन्।