लगातार तेस्रो हार बेहोरेपछि पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा शीर्ष चार पुग्ने नेपालको लक्ष्य कठिन भएको छ ।
पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार नेपालले आयोजक राष्ट्र पाकिस्तानसँग ३–० को सोझो सेटमा नै पराजित भएपछि लगातार तेस्रो हार सामना ग¥यो । राउन्ड रोबिन लिगका आधारमा भएको च्याम्पियनसिपमा नेपालले यसअघि पाँचौं सेटमा पुगेर खेल गुमाएको थियो ।
तेस्रो भने बलियो टोली पाकिस्तानसँग नेपाली टोलीले निकै कमजोर प्रदर्शन गर्यो । पहिलो सेट नेपालले २५–१४ ले सहजै गुमायो । दोस्रो सेटमा नेपालले चुनौती दिने प्रयास गरे पनि सफल भएन । यो सेट पनि पाकिस्तानले २५–१८ ले आफ्नो बनायो । तेस्रो सेटमा भने नेपालले झन् कमजोर प्रदर्शन ग¥यो । यो सेट नेपालले २५–१० ले गुमाउन पुग्यो ।

एफआइभिबीको विश्व वरीयतामा पाकिस्तान नेपालभन्दा माथिल्लो टोली हो । पाकिस्तान ४३औं र नेपाल ९३औं स्थानमा छ । यो नतिजापछि पाकिस्तानले दुई स्थान सुधार गर्दा नेपाल भने ६ स्थान तल झरेको छ । यस च्याम्पियनसिपमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । लिगमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने प्रावधान छ । अब सेमिफाइनलमा पुग्ने नेपालले बाँकी दुई खेल जित्नैपर्ने दबाबमा छ ।
यसअघि बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाली टोली दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग ३–२ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा पनि नेपाली टोलीले काजखस्तानसँग ३–२ को सेटमै हार बेहोरेको हो । यी दुवै खेलका सेटमा पुनरागमन गरे पनि नेपाली टोली जित निकाल्न असफल रह्यो ।

यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को विश्व वरीयता गणना हुने प्रतिस्पर्धा हो । च्याम्पियनसिपमा नेपाल र काजखस्तानसहित आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार नै भएको अन्य खेलमा बंगलादेशले काजखस्तानलाई ३–२ र उब्जेकिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हरायो ।
अब नेपालले आइतबार बंगलादेशसँग र सोमबार उज्बेकिस्तानसँग खेल्ने तालिका छ । लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा र पुछारका दुई टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल जुलाई २८ मा हुनेछ भने फाइनल जुलाई २९ मा हुनेछ ।

प्रतिक्रिया